मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

समाचार टिप्पणी : गभर्नर कुमोको पतनोन्मुख राजनीति ? ओराली लागेको सिंह जस्तै…

समाचार टिप्पणी : गभर्नर कुमोको पतनोन्मुख राजनीति ? ओराली लागेको सिंह जस्तै…

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ठीक एक वर्षअघि जब न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर बनेको थियो, सो बेला संसारले न्युयोर्कलाई हेरिरहेको थियो अनि गभर्नर कुमोको चर्चा । संसारभरि नै न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोको प्रशंसा पनि भयो । संघीय राज्य व्यवस्था भएको अमेरिकाको एक राज्य न्युयोर्कले कोभिड १९ सँग मज्जाले लड्यो । संघीय सरकारको नेतृत्व गरेका डोनल्ड ट्रम्पले चिनिया भाइरस भन्दै कोरोना भाइरसलाई मजाक बनाइरहेको बेला न्युयोर्कले भने कोरोना भाइरसका मृतकको शव व्यवस्थापन गर्ने स्थानको अभाव झेलिरहेको थियो । 
 
संघीय सरकारको असहयोगका बाबजुद गभर्नर कुमोले चामत्कारिक नेतृत्व प्रदान गरे । कुमोले नयाँ र त्रासपूर्ण भाइरसको आक्रमणविरुद्ध न्युयोर्कवासीलाई गज्जबको आत्मविश्वास प्रदान गरी अद्वित्तीय काम गरेको भनी संसारभर प्रशंसा भयो । कतिपयले त कुमोलाई भावी राष्ट्रपतिको दावेदारसमेत मान्न थाले । न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर बनेको एक वर्ष बितेको छ । एकवर्षअघि कुमोको नायकीको चर्चा गर्नेहरु यतिबेला उनको खलनायकीको समाचार पढिरहेका छन् । समयसँगै गभर्नर कुमोको पनि अधोगति सुरु भएको अनुमान गर्न थालिएको छ । ओराली लागेको सिंहलाई मृगले पनि खेद्छ भनेझैँ यतिबेला गभर्नर कुमो आरोपै आरोपले घेरिएका छन् ।
 
नर्सिङ होम काण्ड :
 
नर्सिङ होममा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लुकाएको आरोप खेपिरहेका कुमोमाथि अहिले सो बारेमा छानविन भइरहेको छ । विपक्षीहरुमात्र होइन, आफ्नै दलभित्रबाट पनि कुमोको विरुद्धमा आवाज उठिरहेको छ । जब न्युयोर्क कोरोना भाइरसको इपिसेन्टर थियो सो बेला अस्पतालको चाप कम गर्न भन्दै कुमोले कोभिडका बिरामीहरुलाई नर्सिङ होममा सार्न दबाब दिए र जसका कारण नर्सिङ होममा धेरै मानिसहरुको मृत्यु भएको आरोपबारे उनीमाथि छानविन चलिरहेको छ । नर्सिङ होममा मृत्यु हुनेहरुका आफन्तहरुले यतिबेला दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । 
 
यौन हिंसाको आरोप 
 
पहिलो आरोपः 
 
नर्सिङ होम काण्डले त्यति धेरै आश्चर्यमा पारेन जति गभर्नर कुमोमाथि यौन उत्पीडन गरेको आरोप लाग्यो । ३६ वर्षीया पूर्वकर्मचारी लिण्ड्से बोयलनले गभर्नर कुमोले आफूलाई ओठमा चुम्बन गरेको आरोप लगाइन् । राज्यको आर्थिक विकास संस्थामा सन २०१५ देखि १८ सम्म काम गरेकी बोयलनका अनुसार कुमोले उनको शरीरको पछाडिको भागमा पनि छोएका थिए । सो बारेमा कार्यालयमा उजुरी पनि गरेको दाबी उनको छ । तर, न्युयोर्कको गभर्नरको कार्यालयले आरोपको खण्डन गरेको छ । 
 
कुमोमाथि यौन उत्पीडनको आरोपको चर्चा चलिरहेको बेला अर्को सबैलाई चकित पार्ने उत्पीडनको आरोप लाग्यो । कुमोमाथि आफ्नो छोरीभन्दा पनि कम उमेरकी २५ वर्षीया महिला चार्लोट बेन्नेटले यौन हिंसाको आरोप लगाएकी छिन् । बेन्नेटका अनुसार कुमोले यौनसम्बन्धी कुरा गरेको तथा डेटिङ जाने प्रस्ताव गरेका थिए । बेन्नेट कुमोकै कार्यालयकी पूर्वकर्मचारी हुन् । 
 
कुमोमाथि यतिबेला स्वतन्त्र छानविन भइरहेको छ भने कुमोले पनि छानविनलाई सघाउने बताइरहेका छन् । कुमोका अनुसार कामको सिलसिलामा केही मजाक गरिएको हुन सक्ने बताएका छन् । जसका कारण उनीमाथि लागेको आरोप बलियो देखिएको छ । 
 
आन्तरिक र बाह्य घेराबन्दीमा कुमो 
 
कुनै बेला न्युयोर्कमा निकै शक्तिशाली मानिएका कुमो यतिबेला भने आफ्नै दलभित्र र बाहिबाट चरम घेराबन्दीमा परेका छन् । एकातिर नर्सिङ होमका मृतकको संख्या लुकाएको भन्दै तीव्र विरोध भइरहेका बेला अब उनीमाथि नैतिक र चारित्रिक पतन गराउने यौनहिंसा जस्तो गम्भीर आरोप लागिरहेको छ । कुमोको वाहवाही गर्ने मिडियाहरु यतिबेला कुमोका कमजोरीका लामालामा कथा बुनिरहेका छन् । 
 
त्यतिमात्रै होइन, सन् २०२२ मा अवधि सकिा लागेका कुमोलाई अहिले नै नैतिकताका आधारमा राजीनामा दिनपर्ने दबाब परिरहेको छ । यसले गर्दा कुमोको अधोगति सुरु भएको अनुमान गरिएको छ । आश्चर्यमा पार्ने कुरा त कुमोको विरोध आफ्नै दलभित्रबाट भइरहेको छ । विपक्षीहरुले भन्दा कुमोको विरोध आफ्नै दलभित्रबाट भइरहेको छ । 
 
मेयर ब्लाजिओ र कुमोको राजनीतिक टकराव
 
लामो समयदेखि निलो राज्य अर्थात डेमोक्रयाटहरुको बाहुल्यता रहेको न्युयोर्कमा कुमोको यो तेस्रो कार्यकाल हो । त्यसैगरी अधिकांश स्थानमा डेमोक्रयाटहरुको बोलबाला चल्ने गर्दछ । न्युयोर्कका अधिकांश स्थानमा लामो समयदेखि डेमोक्रयाटहरुले जित्दै आएका छन् । यसकारण डेमोक्रयाटिक दलभित्रको आन्तरिक राजनीतिका कारण पनि कुमो समस्यामा पर्दै गएको अनुमान गर्न सकिन्छ । 
 
न्युयोर्कका मेयर बिल डे ब्लाजिओ कुमोका राजनीतिक प्रतिष्पर्धी हुन् । न्युयोर्कको मेयरमा दोस्रो कार्यकाल बिताइरहेका ब्लाजिओ र गभर्नर कुमोका बीचमा इगोको समस्या पहिलेदेखिकै हो । विचारधारामा फार लेफ्टको आरोप लाग्ने मेयर ब्लाजिओ र सफट मानिएका कुमो एकै दलमा भए पनि तीव्र प्रतिष्पर्धी मानिन्छन् । कुमो र ब्लाजिओका बीचको टकराव कहिलेकाहीँ सतहमै र सार्वजनिकरुपमै देखिँदै आएको छ । 
 
कोरोना भाइरसको रोकथामका विषयमा पनि कतिपय अवस्थामा ब्लाजिओ र कुमोका बीचमा आफू ठूलो भन्ने भावना देखिँदै आएकोले उनीहरु बीचको तीव्र प्रतिष्पर्धा कसैबाट छिपेको छैन । कुमोमाथि लागेको यौनहिंसा आरोपको विषयमा राष्ट्रपति जो बाइडेनलाई फोन गरेर ब्लाजिओले कुमोमाथि दबाब अझै बढाएका छन् । यदि कुमोको राजनीति खस्किने हो भने त्यसको सबैभन्दा धेरै फाइदा मेयर ब्लाजिओलाई नै हुने हो । यसकारण पनि ब्लाजिओको समूहले पनि कुमोमाथि लागेको आरोपलाई विस्तार गर्ने र दबाब दिने कार्य गरेको अनुमान लगान गाह्रो छैन । 
 
समय सधैँ आफ्नो पक्षमा हुँदैन । एक वर्षअघि अमेरिकाकै हिरो बनेका गभर्नर एण्ड्र्यु कुमोको यात्रा भने खलनायक बनेर टुंगिने हो कि भन्ने चिन्ता र चासो बढिरहेको छ । कुमोमाथिका आरोपहरु प्रमाणित भए पनि नभए पनि कुमोको राजनीतिका यात्रमा व्यवधान भने आएकै हो ।