मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससको युलेस सिटी काउन्सिलमा पौडेलको उम्मेदवारी

टेक्ससको युलेस सिटी काउन्सिलमा पौडेलको उम्मेदवारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगतको युलेस सिटी काउन्सिलको निर्वाचनमा पहिलो पटक नेपाली समुदायका एक अगुवाले उम्मेदवारी दिएका छन् ।
 
युलेस सिटीमा विगत १५ वर्षदेखि बस्दै आएका टीका पौडेलले शुक्रवार उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको उम्मेदवारी दर्ताका लागि नेपाली समुदायका अगुवाहरू उल्लेख्य रूपमा सहभागी थिए । युलेस सिटी अफिसमा उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, डा. मुरली अधिकारी, ज्ञानेन्द्र कार्की, शैलेशराज आचार्य, मोहन ज्ञवाली लगायत दुई दर्जनको सहभागिता थियो ।
 
आउँदो मे १ तारिकमा सिटी काउन्सिलको चुनाव हुँदैछ । टेक्ससको युलेस सिटी नेपाली भाषीहरुको उल्लेख्य बसोबास रहेको सिटी हो । दुई वर्ष अघि भएको सिटी काउन्सिलको चुनावमा नेपालीहरूको सहयोगमा पाकिस्तानीमुलका सलमान भोजनी विजयी भएका थिए । गत नोभेम्बरमा भएको मेयरको चुनावमा पनि नेपालीहरूको मत मेयर लिण्डा मार्टिनले पाएकी थिइन् । मेयर लिण्डा पनि आप्रवासी हुन् । उनी पूर्बी युरोपेली मुलुक इस्टोनियाबाट बाल्यकालमै अमेरिका आएकी हुन् ।
 
यस पटकको चुनावमा नेपालीमुलका अमेरिकीहरूको सहभागिता हुनुपर्ने आवाज उठेपछि पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । युलेसमा एकहजार भन्दा बढी नेपालीभाषीहरु मतदाता छन् ।
 
‘अमेरिका बसेर यही बस्ने नेपालीमुलका आमा–बा, दाजुभाइ दिदीबहिनी र छोराछोरीहरूका लागि केही गर्नुपर्छ भन्ने सोचेर राजनीतिमा प्रवेश गरेको हुँ’ पौडेलले भने । नेपालको चितवनमा जन्मिएका पौडेल अमेरिका आएपछि व्यवसायका अलावा सामाजिक क्षेत्रमा निकै क्रियाशील छन् ।
 
आफ्नो उम्मेदवारीबाट नेपाली समुदाय निकै उत्साहित भएको पनि उनले बताए । नेपाल मात्रको मतले सिटी काउन्सिलमा विजयी हुन गाह्रो भएकोले विभिन्न समुदायहरूसँग भेटघाट अन्तरक्रिया, चुनाव प्रचार प्रसारलाई तीव्र बनाउने समेत उनले जानकारी दिए ।
 
पौडेलको उम्मेदवारीले नेपाली समुदाय निकै उत्साहित भएको छ।