मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको न्युयोर्कमा हिमपातका कारण संकटकाल घोषणा

अमेरिकाको न्युयोर्कमा हिमपातका कारण संकटकाल घोषणा


न्युयोर्क । अमेरिकाको न्युयोर्कमा भारी हिमपात भएपछि राज्यद्वारा संकटकाल घोषणा गरिएको छ । 
 

सोमबार न्युयोर्क सहरलगायत राज्यहरुमा हिमपातका कारण जनजीवन अत्यन्तै प्रभावति भएको छ भने विद्यालय बन्द गरिएको छ यद्यपि अनलाइन कक्षाहरु भने सुचारु छन् ।

हिमपातको असर व्यापक देखिन थालेपछि न्युयोर्क राज्यका गभर्नर एण्ड्रयु कुमोले राज्यभर नै मौसम संकटकाल घोषणा गरेका छन् । त्यसैगरी न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले पनि सहरभरी नै संकटकालको घोषणा गरेका छन् । उनीहरुले अश्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेका छन् ।

हिमपातका कारण न्युयोर्कको सार्वजनिक यातायात पनि अस्तव्यस्त बनेको छ । न्युयोर्कमा दैनिक करोडौँले यात्रा गर्ने मेट्रो रेलले जमिनमुनिको यात्रालाई मात्र सुचारु गरेको छ । जमिनमाथि चल्ने रेल सेवा तत्कालको लागि बन्द गरिएको छ भने बस सेवा पनि सीमितमात्र चलाइएको छ । मानिसहरुलाई अत्यावश्यक बाहेकको यात्रा नगर्न आह्वान गरिएको छ । 

त्यसैगरी अधिकांश सडक हिउँले ढाकिएपछि निजी सवारी साधन पनि निकै कममात्र चलेका छन् । न्युयोर्कको व्यस्त स्थान टाइम्स स्क्वायर तथा सेन्ट्रल पार्कमा सोमबार दिउँसो नै झण्डै १५ इन्च हिउँ परेको जनाइएको छ । 

 
त्यस्तै न्युयोर्कको अन्तर्राष्ट्रिय विमानस्थल जोन अफ केनेडी र स्थानीय लागुवार्डिया विमानस्थलमा पनि हिमपात ८ देखि १२ इन्चसम्म भएको मौसम विभागले जनाएको छ । 

आइतबार रातिदेखि नै परेको हिमपात मंगलबार दिनभर नै पर्ने मौसम विभागले जनाएको छ । लामो समयसम्म हिउँ परेपछि हिमपातको असर अझै धेरै हुने अनुमान गरिएको छ । त्यसैगरी न्युयोर्कका छिमेकी राज्यहरु न्युजर्सी, कनेक्टिकट, पेन्सलभेनियामा पनि बाक्लो हिउँ परेको छ । 

 
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा पनि हिमपातको असर देखिएको स्थानीय सरकारले जनाएको छ ।