मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कस्तो होला सन् २०२१ ?

कस्तो होला सन् २०२१ ?


काठमाडौँ । कोरोना महामारीबाट गुज्रिँदै सन् २०२० लाई बिदाइ गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ वर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।  
 
जनअपेक्षा र भवितव्य हुने कुरा एउटा पाटो हो भने नियमित र संभावित अवस्था अर्को पाटो हो । धेरै कार्यक्रमहरुमा विद्युतीय माध्यमहरुको प्रयोगलाई प्राथमिकता दिइने भएको छ । केही अनुमान गर्न सकिने नियमित र संभावित घटनाहरुको यहाँ चर्चा गरिएको छ : 
 
ट्रम्पको बिदाइ र वाइडेनको प्रवेश   
 
सन् २०२१ सुरुको ठूलो घटनाको रुपमा अमेरिकी प्रशासनमा हुने परिवर्तनलाई लिन सकिन्छ । यही जनवरी २० तारिखमा अमेरिकी प्रशासनबाट राष्ट्रपति ट्रम्पको बिदाइ हुने छ भने नव निर्वाचित राष्ट्रपति जो वाइडेनको प्रवेश हुनेछ ।  
 
असामान्य र अस्वभाविक तरिकाले चलिरहेको अमेरिकी प्रशासन नयाँ नेतृत्व आएसँगै पूर्ववत अवस्थामा फर्किने प्रतीक्षा धेरैले गरेका छन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसदमा ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शन अमेरिकी राजनीतिमा कालो धब्बाका रुपमा रहने भएको छ । नयाँ वर्षको पहिलो हप्ताबाटै नमिठो राजनीतिक तथा हिंसात्मक घटनाक्रम सुरुवात भएको छ ।  
 
कोरोना न्यूनीकरण हुने अपेक्षा   
 
सन् २०२० मा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको कोरोना महामारी सन् २०२१ मा भने कम हुने अपेक्षा र प्रार्थना धेरैले गरेका छन् । सबै क्षेत्रलाई तहसनहस पारेको यो महामारी न्यूनीकरणका लागि विभिन्न खोपहरु विकास हुने क्रम चलिरहेकोले यस वर्ष सबैलाई खोपको उपलब्धता हुने सुखद समाचारको प्रतिक्षा भइरहेको छ ।  
  
कतिपय देशहरुमा अहिले लगाउन थालिएको खोप आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सिफारिस गरिएको खोप भएकाले सामान्य अवस्थामा पनि सबैले लगाउन मिल्ने खोप आउने विश्वास गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण पूर्णरुपमा अन्त्य हुने नदेखिएकाले न्यूनीकरणमा नै चित्त बुझाउन पाइने अपेक्षा गरिएको छ । 
 
पूर्वनिर्धारित प्रतियोगिता तथा प्रदर्शनी हुने 
 
सन् २०२० मा हुने तय भएका धेरै खेलकुद प्रतियोगिताहरु कोरोना महामारीका कारण भएनन् । तर, अहिले महामारी न्यूनीकरण हुँदै जाने संभावना देखिएकाले गत वर्ष हुन नसकेका खेलकुद प्रतियोगिताहरु यस वर्ष हुने संभावना रहेको छ । कतिपय आयोजकहरुले गत वर्षको कार्यक्रमलाई यस वर्ष संचालन गर्ने गृहकार्य पनि गरिरहेका छन् ।  
 
विषेश गरेर जापानमा हुने तय भएको गृष्मकालीन ओलम्पिक प्रतियोगिता कोरोनाकै कारण सरेकाले तयारी भने उनीहरुले जारी राखेका छन् । विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ मा आयोजना हुँदैछ ।  
 
सन् २०२० बाट सरेको यो प्रतियोगिता युइएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका लागि खुसीको खबर हो । महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा आयोजना गर्ने तय गरिएको छ । सन् २०२१ मा विभिन्न फिल्म फेस्टिभलहरुको पनि तयारी भइरहेको छ । ती फेस्टिभलहरुमा सयौँ फिल्मकर्मीहरु सहभागी हुनेछन् । 
 
विश्व नेताहरुको जमघट हुने  
 
विश्व नेताहरु सहभागी हुने धेरै कार्यक्रम पनि गत वर्ष स्थगित भए । ती कार्यक्रमहरु यस वर्ष हुने संभावना रहेको छ । संयुक्त राष्ट्रसंघको महासभा गत वर्ष भर्चुअल माध्यमबाट सञ्चालन गरिए पनि यस वर्ष नेताहरुको उपस्थितिमै हुने अपेक्षा गर्न सकिन्छ । सिंगापुरको डाभोसमा हुने विश्व आर्थिक सम्मेलन मे १३ देखि १६ सम्म हुने भएको छ ।  
 
विश्वभर महामारी फैलिएकाले मे १८ देखि १९ सम्म हुने विश्व स्वास्थ्य सम्मेलनलाई पनि महत्त्वका साथ हेरिएको छ । त्यसबाहेक जी ८, जी २० लगायतका धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि यस वर्ष हुने देखिएको छ । धेरै सम्मेलन तथा कार्यक्रमहरु दीर्घकालीन महत्त्वका भएर पनि अघिल्लो वर्ष हुन नसकेकाले यस वर्ष गर्ने तयारीमा आयोजकहरु लागेका छन् । 
 
बेलायती प्रधानमन्त्री भारत आउने
 
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन यस वर्ष भारत भ्रमणमा आउने तय भएको छ । जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा उनको भ्रमण हुने भएको हो । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरुसँग व्यापार, सुरक्षा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा पनि छलफल गर्ने भएको छ । 
 
चिनियाँ कम्युनिष्ट पार्टीको सतवार्षिकी  
 
चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको छ । सतवार्षिकीलाई चिनियाँ कम्युनिष्ट पार्टीले भव्यरुपमा मनाउने र कोरोनापछिको प्रगति पनि विश्वलाई देखाउने गरी अवसरको रुपमा १००औँ स्थापना दिवसलाई उपयोग गर्ने भएको छ । जुलाई १ मा स्थापना दिवसका अवसरमा गरिवी अन्त्यको घोषणा गर्ने तयारी पनि चीनले गरेको छ । तर कोरोनाका कारण लक्ष्य पूरा हुन बाधा पुगेको पनि हुनसक्छ । त्यो भने अझै स्पष्ट भइसकेको छैन । 
 
राजकुमारी डायनाको ६०औँ जन्मोत्सव 
 
बेलायती राजकुमारी डायनाको ६०औँ जन्मोत्सव यसै वर्ष मनाइने भएको छ । जन्मोत्सवलाई विशेष बनाउन उनका छोराहरू राजकुमार विलियम र ह्यारीले संयुक्तरुपमा आफ्नी आमाको सम्मानमा सालिक अनावरण गर्ने भएका छन् ।  
  
उनीहरु हुर्किएको सन्केन गार्डेनमा डायनाको सालिक बनाइएको छ । राजकुमार विलियम लन्डन र ह्यारी लसएन्जल्समा बस्ने गरेको भए पनि उनीहरु आमाको सालिक अनावरणका लागि सन्केन गार्डेनमा जाने विषयलाई पनि महत्त्वका साथ हेरिएको छ । 
 
उल्लेखितबाहेक यसैवर्ष धेरै देशमा निर्वाचन हुँदै नयाँ सरकार बन्ने भएका छन् भने दुई पक्षीय विवाद र शान्ति स्थापनाका प्रयासहरुले पनि निरन्तरता पाउने देखिएको छ । त्यस्तै हरेक वर्ष विभिन्न ठाउँमा हुने दुखद् ठूला घटनाहरुका बारेमा भने पूर्वानुमान गर्न नसकिए पनि त्यस्ता घटनाहरु नहोलान् भन्न सकिँदैन । एजेन्सी