मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणतन्त्रविरोधी गतिविधिविरुद्ध सत्ता र प्रतिपक्षको समान मत

गणतन्त्रविरोधी गतिविधिविरुद्ध सत्ता र प्रतिपक्षको समान मत


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आह्वान गरिएको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठकमा सत्तापक्ष र मुख्य प्रतिपक्षी दलले गणतान्त्रिक परिवर्तनका पक्षमा समान मत व्यक्त गरेका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी नेताहरुले नेपाली जनताको बलिदान र  त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राजतन्त्रका नाममा देखिएका गतिविधि र मुलुकमा भएका विभिन्न हिंसात्मक कार्यको विरोध गरे । 

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।  

बैठकको अन्त्यमा प्राप्त सुझावलाई सकारात्मकरुपमा ग्रहण गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले गरेका थिए । 

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले प्रभावकारी कार्यसम्पादन र कोभिड–१९ को नियन्त्रणमा ध्यान दिन सक्नुपर्ने बताए ।  

उनले सरकारले दिने सेवा र काम प्रभावकारी नभएमा पुरातन शक्तिको गतिविधिले प्रश्रय पाउने बताउँदै सरकारलाई जनहितमा प्रभावकारी काम गर्न आग्रह गरिएको जानकारी दिए । उनले विद्यमान प्रणालीविरुद्ध भएका गतिविधिप्रति कांग्रेसको विरोध हुने पनि स्पष्ट गरे ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए ।  

त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला र डा महत तथा जनसमाजवादी पार्टीका नेता महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता दीपक बोहरा, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा र नेपाल मजदूर किसान पार्टीबाट नेता प्रेम सुवाल उपस्थित थिए । रासस