मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्व स्वास्थ्य संगठनसँग सबैखाले सम्बन्ध तोड्ने राष्ट्रपति ट्रम्पको घोषणा

विश्व स्वास्थ्य संगठनसँग सबैखाले सम्बन्ध तोड्ने राष्ट्रपति ट्रम्पको घोषणा


वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सबै खाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । 
 
विश्वमा फैलिएको कोभिड-१९ को विषयलाई लिएर पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठनबीचको सम्बन्धमा चिसोपना आएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप लगाउँदै आएका छन् । 
 
राष्ट्रपति ट्रम्पले उक्त संगठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य संगठन असफल भएको आरोप पनि लगाएका छन् । राष्ट्रपति ट्रम्पले गत महिनामात्र पनि अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए । 
 
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, चीनले बर्सेनि विश्व स्वास्थ्य संगठनलाई ४ करोड अमेरिकी डलरबराबरको मात्र आर्थिक सहायता दिँदै आए पनि उक्त संगठनमाथि चीनले नै नियन्त्रण जमाएको छ । 
 
उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई र्बेनि ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकारी गराउँदै तर पनि उक्त संगठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए । 
 
उक्त संगठनलाई व्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भए पनि ऊ असफल भएको आरोप पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका छन् । उनले भने, त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य संगठनसँगको सबै खालको नाता तोड्दैछौँ । 
 
यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघअन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए । 
 
संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता राष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त संगठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।
 
यसअघिदेखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त संगठनलाई दोषी देखाएका छन् । 
 
अमेरिकाले विश्व स्वास्थ्य संगठनमा विस्तृत रुपमा सुधार गर्ने भनेको तर पति उक्त संगठनले नमानेको आरोप ट्रम्पको छ । यसअघि पनि उनले चीनले सुरुमा कोरोना भाइरस पत्ता लाग्नासाथ सही सूचना लुकाएको आरोप लगाएका थिए । 
 
अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले विशेषज्ञहरुको टोली चीन पठाउनुपर्ने माग राख्दै आएको छ । तर, त्यस मागप्रति चीन र विश्व स्वास्थ्य संगठन नै सकारात्मक छैनन् । 
 
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख ४ हजार ८१२ जनाको ज्यान गएको छ भने १८ लाख ३ हजार १३५ नागरिक संक्रमित छन् । एएनआई

शेयर गर्नुहोस:

0
Shares