मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण


कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार एक नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।  
 
सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र  सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिए ।  
 
जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए । 
 
उनका अनुसार अन्य नौ जना १४ दिनअघि भारतबाट आएका थिए जसमा वडा नं १० मा दुई, वडा नं १ मा चार, वडा नं ५ मा एक र  वडा नं २ मा दुईमा कोरोना पुष्टि भएको छ । 
 
उनीहरु आआफ्नो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए । विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र वडा नम्बर ३ मा एकमा कोरोना भाइरस सङक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए । तीनैजना भारतबाट केही साताअघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेसनमा राखी उपचार गरिने छ । 
 
बुद्धभूमि नगरपालिकामा एक पत्रकारसहित अर्का वडा न) ८ का एकमा सङक्रमण पुष्टि भएको छ । उनी केही दिनअघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा माविको क्वारेन्टिनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए । दुई जनाको अवस्था सामान्य छ । 
 
कपिलवस्तुमा अहिलेसम्म चार पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुनः एकमा सङक्रमण देखिएसंँगै सङक्रमित पत्रकारको सङख्या चार पुगेको हो । यसअघि बाणगङ्गामा दुई र कपिलवस्तु नगरपालिकामा एक सङ्क्रमित देखिएका थिए । 
 
पत्रकारमध्ये  तीन पुरुष र एक महिला सङक्रमित भएका हुन् । सङ्क्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा सञ्चालित आइसोलेसनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइसोलेसन अस्पतालमा छन् । यससंँगै कुल सङ्क्रमितको संख्या जिल्लामा १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सङक्रमित ५२ मध्ये ४९ भारतबाट केही साताअघि आएका थिए । 

शेयर गर्नुहोस:

0
Shares