मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पश्चिम रुकुममा मृतकको संख्या पाँच पुग्यो, अझै एक बेपत्ता

पश्चिम रुकुममा मृतकको संख्या पाँच पुग्यो, अझै एक बेपत्ता


जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभीरमा फेला परेको छ । 
 
योसँगै पाँच जनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो । 
 
गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । 
 
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ । अन्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो । 
 
घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशंकामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । 
 
तर,नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए । 
 
उनले भने, “हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।” 
 
अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरैबेर डुबेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाइ रहेको प्रमुख बस्नेतले जानकारी दिए । 
 
पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उनले बताए ।  
 
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । 
 
बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए । रासस

शेयर गर्नुहोस:

0
Shares