कैलाली । कामको सिलसिलामा भारतका विभिन्न सहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझमात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ छन् ।
जिल्ला प्रवेश गरेका दुई हजार ८७९ जनालाई जिल्लाका नौवटै स्थानीय तहले तयार पारेका ६७ क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशसान कार्यालय डोटीले जनाएको छ । जिल्लाको शिखर नगरपालिकाका नागरिक सबैभन्दा बढी भारतबाट फर्किएका छन् ।
भारतबाट फर्किकाका स्थानीयका कारण यहाँको चहलपहल पनि बढ्दै गएको छ । उनीहरुलाई बिनाजाँच यहाँका स्थानीय तहले आफ्ना क्वारेन्टाइनमा राख्न थालेको छ । कोरोना भाइरसको जाँच गर्ने आरडिटी कीट नभएका कारण उनीहरुलाई बिनाजाँच क्वारेन्टाइनमा राख्न थालिएको हो ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकामा ५६६, शिखर नगरपालिकामा ६३३, सायल गाउँपालिकामा २५९, केआइसिंह गाउँपालिकामा ५१४, जोरायल गाउँपालिकामा ६३, बोगटान फुड्सिल गाउँपालिकामा २१४, बडिकेदार गाउँपालिकामा २४२, आदर्श गाउँपालिकामा २८५ र पूर्वीचौकी गाउँपालिकामा १०३ गरेर कूल दुई हजार ८७९ राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा राखिएकामा महिला ७९, पुरुष दुई हजार ७८४ र बालबालिका १६ रहेका छन् ।
त्यस्तै जिल्लामा रहेका क्वारेन्टाइनको बेड सङ्ख्या एक हजार २८३, आइसोलेसन श्यया सङ्ख्या ५१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ३६९ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जसमध्ये ३५९ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १० जनाको रिर्पोट आउन बाँकी छ ।
जिल्लामा दुई हजार ८२ जनाको आरडिटी गरिएको छ । जसमा दुई हजार ७८ जनाको नेगेटिभ र चार जनाको मात्र पोजेटिभ आएको छ । केही दिनयतादेखि डोटी जिल्लामा भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै चुनौती देखिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताए । उनले भने, “भारतबाट नागरिक आएको छन्, हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।”
भारतबाट आएका नागरिकलाई जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिकाको रानागाउँ, फलेडी, सलेना, जोरायल गाउँपालिकाको रामपुर मावि बुडर, बडिकेदारको बिपीनगर, आदर्श गाउँपालिकाको मौवा नगरदह, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायत स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ । रासस








प्रतिक्रिया