काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न तदनुकूल पहल गरिने बताएकी छन् ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिने जानकारी दिइन् ।
लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै भारतले सडक निर्माण गरेको थियो । नीति तथा कार्यक्रममा वर्तमान सरकार गठनपछि छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम स्थापित भएको पनि जनाइएको छ ।
राष्ट्रपति भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उपलब्धि हासिल भएको बताइन् ।
उनले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज विश्व समुदाय साझा र अदृष्य शत्रुसँग जुधिरहेका बेला नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणमा समयमै प्रभावकारी र समन्वयात्मक पहलकदमी लिएको उल्लेख गरिन् ।
उनले वर्तमान सरकार नेपालको स्वाभिमानको रक्षा, नागरिकको संरक्षण र देशको गौरव बढाउन सम्पूर्ण सामथ्र्यका साथ आफूलाई केन्द्रित गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न कटिबद्ध रहेको पनि बताइन् ।
उनले कोरोना भाइरसबाट पार पाउनका लागि विश्व समुदायबीच एकता, आत्मविश्वास र सहकार्य आवश्यक रहेकामा जोड दिएकी छन् । समाज फेरि समृद्ध बन्न सक्ने तर गुमेको मानवीय मूल्यको क्षतिपूर्ति हुन नसक्ने भएकाले यतिबेला मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता भएको उनले स्पष्ट पारेकी छन् ।
उनले सरकारले शान्ति सुरक्षा र भ्रष्टाचारको अन्त्यमा विशेष उपलब्धि हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने यात्रामा सरकार अघि बढिरहेका बेला कोभिड– १९ को महामारीका कारण निर्धारित लक्ष्य र गतिमा धक्का पुगेको बताइन् ।
उनले भनिन्, “सरकारको प्राथमिकता बदलिएका छन् । सरकारको अबको प्राथमिकता स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनः उत्थान हुनेछन् ।” रासस








प्रतिक्रिया