कपिलवस्तु । प्रदेश नं ५ अन्तर्गत पर्ने कपिलवस्तुमा सर्वसाधारणको सुरक्षामा खटिएका तीन सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षामा खटिएका नेपाल प्रहरीका सई, हबलदार, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि बुटवल लैजाने वा कपिलवस्तुमै राख्ने भन्नेमा छलफल भइरहेको उनले बताए । उनका अनुसार चारै जनाको अवस्था सामान्य रहेको छ भने अन्य संक्रमतिलाई पनि कहाँ उपचार गर्ने भन्नेबारे छलफल भइरहेको छ।
यसअघि कपिलवस्तुमा एक नर्समा पनि कोरोना संक्रमण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
यससँगै कपिलवस्तुमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ । यस्तै, प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देहीमा ३९, बाँकेमा २५ तथा बर्दिया र पश्चिम नवलपरासीमा १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीमा कोरोना संक्रमण हुन थालेको पाइएको छ । मंगलबार भक्तपुरमा रहँदै आएका रामेछापका एक सशस्त्र प्रहरीका जवानमा पनि कोरोना पुष्टि भएको थियो ।
उनी पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिँदै आएका थिए । यस्तै, पसौ जिल्लाको वीरगञ्जमा दुई पत्रकारमा पनि कोरोनाभाइरस पुष्टि भइसकेको छ । बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । जसमा ३५ जना उपचारपश्चात् घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया