चितवन । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण सुरू गरेको विषयलाई चितवनका राजनीतिज्ञहरुले ‘भारतीय नाङ्गो हस्तक्षेप’ भनेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेस चितवनका स्थानीय नेताहरुले भारतीय पक्षले ठाडो हस्तक्षेप गर्दा ‘सरकार निरीह’ बनेको जनाएका छन् ।
‘लिपुलेकमात्रै होइन, नेपालसँगको सम्पूर्ण सीमामा भारतले जुन हस्तक्षेप गरेको छ यसको घोर भत्र्सना गर्दछु’, नेकपाका चितवन अध्यक्ष यमबहादुर परियारले भने, ‘यो ठाडो हस्तक्षेप हो, सबै नेपाली एकजुट भएर सामना गर्नुपर्छ ।’ उनले हरेक सीमाका विषयमा वार्ता, संवाद र छलफलबाट टुङ्गो लगाउनुपर्ने बताए ।
‘यो हस्तक्षेप भारतीय विस्तारवादकै रुप हो, नेपालमाथि अतिक्रमण हो’, अध्यक्ष परियारले भने, ‘सरकारले कूटनीतिक पहलबाट यसको समाधान गर्नुपर्छ ।’ उनले राष्ट्रियताप्रति सबै नेपाली एकजुट हुनुपर्ने बताए ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण सुरू गर्नु गम्भीर आपत्ति भएको बताए । ‘यस्तो अतिक्रमण हुँदा पनि सरकार केही नबोल्नु, योभन्दा लज्जाको विषय अरु के हुन सक्छ ?’ उनको भनाइअनुसार प्रधानमन्त्रीले तत्काल भारत सरकारसँग कुरा गरेर सीमा विवाद समाधान नगरी कुनै चासो नदिई चुपचाप बस्नु भनेको सरकार निरीह हुनु हो ।
नेकपा चितवनका अर्का नेता बद्रि तिमिल्सिनाले सरकारले कूटनीतिक तरिकाले सम्पूर्ण सीमा विवाद समाधान गर्नुपर्ने बताए । उनले भने, ‘यसमा सरकारको ध्यान नपुगेको देखिन्छ, सरकारले निकास खोज्नैपर्छ ।’ उनले लिपुलेकको सडक निर्माणलाई भारतको ‘बल मिच्याइँ’ भएको बताए । नेता तिमिल्सिनाले भने, ‘कोरोनाको बेला भारतले मौका छोपेको हो, सबै नेपाली एकताबद्ध हुन जरूरी छ, लिपुलेकमात्रै होइन सुस्ता, भैँसालोटनलगायका ठाउँको सीमा विवाद तत्काल समाधान गर्न सरकारले कूटनीतिक पहल थाल्नुपर्छ ।’
नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले सरकार राष्ट्रियताको सवालमा गम्भीर नबन्दा यो स्थिति आएको बताए । उनले भने, ‘छिमेकी देशलाई खुसी पारेर सत्ता टिकाउन यो सरकार लागिरहेको छ, लिपुलेकको विषयमा सरकार गम्भीर भएकै छैन ।’ उनले प्रश्न गर्दै भने, ‘हिजो प्रतिपक्षमा बस्दा राष्ट्रियताको सवालमा बोल्ने तर अहिले सत्तामा हुँदा किन बोल्दैन ? राष्ट्रियतामाथि सङ्कट चुलिँदा पनि सरकार मूकदर्शक बन्दै लाचार भएको छ ।’
साझा पार्टी चितवनका संयोजक भूपेन्द्र बस्नेतले सत्ता जोगाउन सरकार भारतसँग लम्पसार परेको बताए । उनले भने, ‘भारतले सीमा मिचेको सरकारलाई थाहा छ, तर सत्ता टिकाउन सरकारले नसुनेको जस्तो गरेको छ । उनले सरकार दुई तिहाइको होइन, दुई कौडीको बनेको बताए ।
दस पार्टीको विरोध
भारतले कालापानी र लिपुलेकसमेतको अतिक्रमण गरी सडक बनाएकोमा नेपालका दस पार्टीहरुले पनि विरोध गरेका छन् । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘नेपालमाथिको भारतीय पक्षको नाङ्गो हस्तक्षेप’ भनेका छन् ।
दस पार्टीहरुले संयुक्त विज्ञप्तिमार्फत भारतको टनकपुर–तावाघाट राष्ट्रिय राजमार्गको अन्तिम बिन्दु तावाघाटदेखि दार्चुला जिल्लाको लिपुलेकसम्म सडक निर्माणको कार्य पनि युद्धस्तरमा अगाडि बढाइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘नेपालको सार्वभौमिक अखण्डताभित्रको दार्चुला जिल्लामा पर्ने गुञ्जीदेखि कालापानी हुँदै नाभीढाङसम्मको झन्डै २२ किमी भूभागमा सडक निर्माण गरी त्यो सडकलाई लिपुलेकसम्म पु¥याई चीनको मानसरोवरसँग सम्बन्ध जोड्ने कार्यको कडा शब्दमा विरोध तथा भत्र्सना गर्दछौँ’, संयुक्त वक्तव्यमा भनिएको छ । वक्तव्यमा भनिएको छ, ‘यो भारतीय शासक वर्गले गरेको गम्भीर प्रकारको हस्तक्षेप नै हो ।’
नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल, जनजागरण परिषद् नेपाल, नेकपा (संयुक्त)ले वक्तव्य जारी गरी भारतीय शासक वर्गको त्यसप्रकारको कदमका विरूद्ध व्यापकरुपले आवाज उठाउन सम्पूर्ण देशभक्त नेपाली जनतासित अपिल गरेका छन् ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुञ्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंकरोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ भने नेपाल सरकारले पनि आपत्ति जनाएको छ ।








प्रतिक्रिया