काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण आफूले प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था आएमा उपाध्यक्ष वामदेव गौतमलाई सरकारको नेतृत्व दिनुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।
पछिल्लो घटनाक्रमले राजनीतिक परिस्थिति असामान्य बन्दै गएपछि नेकपा सचिवालय बैठकमा समेत सरकारको नेतृत्वको विकल्पका विषयमा बहस चलेको थियो । करिब चार घन्टा चलेको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सञ्चालन भएको थियो ।
बैठकमा अध्यक्ष प्रचण्डले यस्तो विवादको अवस्थामा आफूले भए राजीनामा दिने बताउँदै घुमाउरो शैलीले राजीनामा माग गरेका थिए । प्रचण्डले आफ्नो कुरा राख्नेवित्तिकै प्रधानमन्त्रीले नयाँ विकल्पका बारेमा वामदेवलाई अघि सारेका हुन् ।
प्रधानमन्त्रीले अहिले कोरोना महामारीको अवस्था रहेकाले साथीहरुको मनसाय नै त्यस्तै हो भने आफूले संसद्मै त्यसलाई फेस गर्ने बताए । प्रधानमन्त्रीले अवसर नपाएका नेता वामदेवलाई प्रधानमन्त्री बनाउने प्रूताव अघिसारेका हुन् ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुनेगरी संविधान नै संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेरै भए पनि वामदेवलाई ल्याउन ओली तयार रहेको स्रोतको भनाइ छ ।
साथै, पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि प्रधानमन्त्रीको छ ।
बैठक अनौपचारिकरुपमा निष्कर्षविहीन बने पनि अर्को बैठक पुनः वैशाख २० गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।








प्रतिक्रिया