काठमाडौँ । नेपालमा आइतबार थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
यस्तै, विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको डा अधिकारीले जानकारी दिए । आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनको स्वास्थ्यस्थिति सामान्य रहेको उनले बताए ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । मन्त्रालयका अनुसार १६ जना बिरामी पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएका छन् ।
यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो ।
हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकको छन् ।
कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उनमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’लाई निरन्तरताको निर्णय गरेको थियो । आइतबार १० दिन थप गरी वैशाख २५ गतेसम्म लम्ब्याइएको छ ।
सरकारले हालसम्म कुल ५१ हजार ३६७ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआर प्रविधिबाट नौ हजार ९३१ र ¥यापिड डाइग्नोस्टिक टेष्ट प्रविधिबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ९६ जनाको थप परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार ३०८ परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार १४१, बाग्मती प्रदेशमा कुल सात हजार ५९१ परीक्षण गरिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा कुल चार हजार ९२४, प्रदेश नं ५ मा तीन हजार ३२६, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कुल ११ हजार १७२ नमुना परीक्षण गरिएको छ । हालसम्म कुल १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कुल ११० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ र बाहिर १०४ रहेका छन् ।








प्रतिक्रिया