वीरगञ्ज । नेपालको वीरगञ्ज महानगर १० अशोक बाटिकाकी ३३ वर्षीय युवतीको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा ज्यान गएको छ । उनको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) पोजेटिभ देखिएको थियो ।
कोरोनाको आशंका भएपछि आइसोलेसनमा राख्ने तयारी गर्दा गर्दै मृत्यु भएको सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए । मृतकको थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएकोमा रिपोर्ट आउन बाँकी छ ।
चिकित्सकका अनुसार उनी ब्लड क्यानसरको बिरामीसमेत रहेको बताइएको छ ।
गत चैत ५ गते स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालले ब्लड क्यान्सर भएको प्रमाणित भएपश्चात् चैत ९ गते डिस्चार्ज गरिएको परिवारजनले बताएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि घरमै रहेर स्वास्थ्य लाभ गर्दै आएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि वीरगञ्जस्थित एडभान्स अस्पताल लगिएको थियो ।
प्रारम्भिक उपचारपश्चात् एडभान्सले आइसियूमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिएपछि उनलाई नेसनल मेडिकल रिफर गरेको थियो । तर, नेसनल मेडिकल कलेजले आइसियू वार्ड खाली नरहेको भन्दै बिरामीको भर्ना लिन नमानेपछि तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको परिवारजनले बताएका छन् ।
सो अस्पतालले अन्य जाँचसँगै आरडिटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट देखिएपछि नारायणी अस्पतालको टोलीले फेरि पुनः र्यापिड टेस्ट गरेको थियो । सो क्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदा हुँदै उनको मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार ती युवतीको टीकाटालो भइसकेर बिहे हुन बाँकी थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरेको जनाएको छ । एजेन्सी








प्रतिक्रिया