काठमाडौँ । नेपाल टेलिभिजनका दृश्य सम्पादक सतीश कोइरालाको क्यान्सर रोगबाट भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा नयाँ दिल्लीमा शुक्रबार निधन भएको छ ।
विसं २०६० देखि नेपाल टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरत कोइरालाले एनटिभी न्यूज च्यानलमा समाचार र ‘विश्वघटना’, ‘स्पोर्टस टाइम’ जस्ता कार्यक्रमको सम्पादन गर्दै आएका थिए । उनी ३७ वर्षका थिए ।
गत वर्ष नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित स्व वीरेन्द्र कार्की उत्कृष्ट दृश्य सम्पादक पुरस्कार प्राप्त गरेका उनी महासंघका केन्द्रीय प्रतिनिधि थिए ।
बङ्गलादेशस्थित ढाका विश्वविद्यालय तथा नर्वेको ओस्लो विश्वविद्यालयबाट सञ्चारसम्बन्धी विषयमा स्नातकोत्तर गरेका कोइराला दक्षिण अफ्रिकाको विश्वविद्यालयबाट विद्यावारिधि गर्दै थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाल टेलिभिजनले जनाएको छ । स्व कोइरालाकी धर्मपत्नी बाटिका राणा नेपाल टेलिभिजनमा दृश्य सम्पादककै जिम्मेवारीमा छिन् ।
यसैबीच, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले दृश्य सम्पादक कोइरालाको निधनले स्तब्ध भएको बताएका छन् ।
अध्यक्ष न्यौपानेले शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।








प्रतिक्रिया