बिश्व घटना

अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते

अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते


कावुल  । अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । 
 
घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो । 
 
“हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ”, गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भने । 
 
स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उहाँले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतङ्कारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिए । 
 
सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल–ए–सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान ११ः२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन् । 
 
घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिहनहनुभएको थियो । आक्रमणमा अफगानीस्तानी राष्ट्रिय प्रहरीअन्तर्गतको  संकट व्यवस्थापन एकाइ (सीआरयु)का प्रहरीहरुले लगातार प्रतिआक्रमण गरेका थिए । 
 
कार्यक्रमस्थलमा सहभागीमध्ये अधिकांश राजनितिज्ञ तथा सरकारी अधिकारीहरू रहेका थिए । कार्यक्रममा सहभागी सरकारका प्रमुख कार्यकारी अब्दुलाअब्दुला, खालीली, पूर्वराष्ट्रपति हमिद कारजाइलगायतलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए । 
 
जिहादी नेता अब्दुल अली–मजारीको वार्षिकीका अवसरमा आयोजित स्मृतिमा आक्रमणको घटना भएको हो । आक्रमणका बारेमा यो समाचार तयार पार्दासम्म कसैले पनि जिम्मेवारी लिएको छैन । 
 
अफगानिस्तामा गत सन् २०१९ मा मात्रै युद्धसम्बन्धी घटनामा परी तीन हजार ४०० भन्दा बढी नागरिक मारिएका छन् भने अरु छ हजार ९०० जना घाइते भएको संयुक्त राष्ट्रसङ्घको अपगानिस्तानस्तित नियोगले जनाएको छ ।