बिश्व घटना

कोरोना भाइरसका कारण एक हजार १६ व्यक्तिको मृत्यु, एकैदिन १०८ मानिसको गयो ज्यान

कोरोना भाइरसका कारण एक हजार १६ व्यक्तिको मृत्यु, एकैदिन १०८ मानिसको गयो ज्यान


बेइजिङ । चीनको हुवेई प्रान्तबाट महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणका कारण एकैदिन १०८ मानिसको ज्यान गएको छ ।
 
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म हुवेईमा एक हजार १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा चीनबाहिर हङकङमा एक र फिलिपिन्समा एक जना रहेका छन् । 
 
सिएनएनका अनुसार सोमबारसम्म कोरोना भाइरसबाट २ हजार ६१८ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार करिब चीनमा चारहजार व्यक्ति संक्रमित भएको अनुमान छ । 
 
मगलबार बिहानसम्म विश्वभर ४३ हजार ९० व्यक्तिहरु संक्रमित भएको बताइएको छ । जापानको डाइमन्ड प्रिन्सेस क्रुजमा सवार १३६ जनामा पनि कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । 
 
कोरोनाका कारण मेनल्यान्ड चाइनामा एक हजार १४ ले ज्यान गुमाएका छन् भने विश्वव्यापिरुपमा एक हजार १६ जनाको मृत्यु भएको छ । 
 
विश्वभरबाट सहयोग 
 
यसैबीच, कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई गु्रप–७७ र राष्ट्रसंघले सहयोग गर्ने भएको छ । चीनमा देखा परिरहेको प्राणघातक संक्र्रमण कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूहले सहयोग गर्ने जनाएको छ । 
 
संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले गु्रप–७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन् । 
 
त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।
 
संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्न गरेका प्रयासहरुको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने जनाएको हो ।    
 
चीनले यस भाइरसको संक्रमण रोक्न हालसम्म ४० हजार सामुदायिक कार्यकर्तालाई अग्रपंक्तिमा परिचालन गरिएको जनाएको छ ।
 
चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जनाएका छन् । नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् । 
 
यस भाइरसबाट .एक हजार १६ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरूआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना संक्र्रमित भएका अधिकारीहरुले जनाएका छन् । यो संक्रमण उक्त प्रान्त बाहिर एवं अन्य देशमा समेत देखापरेका छन् । (सीएनएन र सिन्हवाको सहयोगमा)