अमेरिका– प्रवासी नेपाली एकता मञ्च अमेरिकामा रँडाको मच्चिएको छ । अध्यक्षको जिम्मेवारी लिएर प्रभु थापा अमेरिका फर्किएको केही दिन हुन नपाउँदै मञ्चका संस्थापक भीम कार्की लगायतका नेताहरुको पहलमा पुरानो संस्थालाई व्युँताउने घोषणा भएको छ । नेपालबाटै पदको बाँडफाँड भएको घोषणा प्रति असन्तुष्ट जनाउँदै टेक गुरुङको अध्यक्षतामा कार्यसमिति पुनर्गगठन गरिएको घोषणा भएको छ ।
‘प्रवासमा पार्टीको कुनै पनि कमिटी नरहने भनेर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले तीन महिना अघि निर्णय सुनाउनुभयो । तर अहिले अमेरिकाको स्थानीय कानुन अनुसार दर्ता भएको प्रवासी नेपाली एकता मञ्चको अध्यक्ष, सचिव र पदाधिकारीहरु टिका लगाएर नियुक्ति पार्टीले गरेको छ । यसमा हाम्रो असहमति हो’ पुनर्गठित एकता मञ्चका प्रवक्ता कमल ओझाले भने ।
‘अमेरिकामा दर्ता भएको संस्थामा नेपालको कुनै पनि कानुन लाग्दैन । अब हामी विधान अनुसार एक वर्षभित्र साधारण सभा गर्ने तयारीमा जुटेका छौँ’ ओझाले भने । काठमाडौंबाट पदाधिकारी चयन गरिनु अमेरिकी कानुनको बर्खिलाप भएको ठहर समेत समितिका पदाधिकारीहरुको छ ।
आइबारको भेलाले टेक गुरुङ अध्यक्ष रहनेगरि महासचिवमा शंकर पन्त, कोषाध्यक्षमा युवराज खनाल र प्रवक्तामा कमल ओझालाई चयन गरिएको जनाइएको छ ।
गत सातामात्र पूर्ब एमालेबाट प्रभु थापा अध्यक्ष र पूर्ब माओवादीबाट प्रकाश अधिकारी सचिव रहेको समिति गठन भएको थियो । काठमाडौंबाट घोषणा भएको यो समितिमा सञ्जय थापा, टेक गुरुङ, इश्वरी भट्ट, यमुना भट्टराई, गोपाल कँडेल, राधाकृष्ण देउजा, कृष्ण लामिछाने, युद्धबहादुर पन्त, जानकी कार्की, छवी पाण्डे, प्रदीप तिम्सिना, हेमन्त भेटवाल, विजयराज भट्टराई, राजेन्द्र शिवाकोटी, कमला भुसाल, नारायण कँडेल लगायत छन् ।
विश्वस्त स्रोतका अनुसार यो घटना प्रवासी नेपाली एकता मञ्चको विभाजननै हो । विभाजन हुनुमा लामो समयदेखि (एमाले हुँदैदेखि) संगठनभित्रको दुई पक्षबीचको जुँगाको लडाई हो । जुन पछि माओवादी मिसिएपछि झनै चर्को रुपमा बढ्यो । अहिले आएर नेकपाले अमेरिकामा रहेका कार्यकर्ताको भावना नबुझि केन्द्रबाट हँसिया हतौडाको लेटरहेडमा पदाधिकारी चयन गरेको घोषणा गर्नु र केही पुराना नेता कार्यकर्तालाई पाखा लगाउन खोज्नु मुख्य कारण रहेको एक स्रोतले बताएको छ ।
‘अरु देशमा के छ ? कसरी संस्थाहरु चलेका छन् थाहा भएन । तर अमेरिकामा स्थानीय कानुन जसलाई फाइभवान सी भनिन्छ त्यस अनुसार प्रवासी मञ्च दर्ता भएको छ । यस्तो संवेदनशीलतालाई नेकपाले हल्का ढंगमा लिएको हामीले महसुस गरेका छौ’ मञ्चका एक पूर्ब पदाधिकारीले भने ।
काठमाडौंबाट नाम घोषणा भएका पदाधिकारीहरुले भने टेक गुरुङको संयोजकत्वमा गठन भएको समितिको कुनै वैधानिकता र आधिकारिकता नहुने बताए । ‘यस्तो ध्वाँस र धम्कीले संस्था चल्दैन, चित्त नबुझेको कुरा छ भने आन्तरिक रुपमा राखेमा छुटेका धेरै साथीहरुलाई समेटेर अघि बढ्न सकिन्छ । होइन भने पाखामा बसेर विरोध गर्नेहरु त्यहाँबाट माथि बढ्न सक्ने गुञ्जायसनै छैन,’ नाम चाँही सार्वजनिक नगर्न आग्रह गर्दै उनले भने ।
यहाँबाट सिफारिस भएर गएको एकसय दुईजनाको नाममध्य धेरै जनाको छुटेकोमा उनले स्विकार गरे । उनले त्यसमा बसेर थप्न सकिने संभावन बाँकी छँदै हतारमा अर्को कार्यसमिति पुनर्गठनको चर्चा गरेर सामाजीक सञ्जाल रंग्याउँदा आफै नांगिने टिप्पणी उनले गरे ।
नेकपाको हस्तक्षेपले अमेरिकाको प्रवासी नेपाली एकता मञ्चभित्र ठूलै रँडाको भने थपिएको छ । स्रोतका अनुसार मञ्चको संस्थापक भनिएका भीम कार्की, बाला घिमिरे, राधाकृष्ण देउजा, कमल ओझा लगायत असन्तुष्ट हुनुले संस्थाभित्र ठूलै दरार सिर्जना भएको र यसमा माउ पार्टी नेकपाको गंभिर हेलचक्राइ रहेको सो संगठनका केही शुभचिन्तकहरुले टिप्पणी गरेका छन् ।







प्रतिक्रिया