मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयाघातबाट मृत्यु

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयाघातबाट मृत्यु


चितवन । भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति हृदयाघातका कारण एम्स अस्पतालमा निधन भएको छ । उनी ६७ वर्षकी थिइन् । 
 
स्वराजको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि मंलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्यमन्त्री हर्ष वर्धनसहितका आफन्तजनले अस्पतालमा लगेका थिए । उनले मंगलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेको बताइएको छ । स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियूष गोयल र नितिश गोडकरीसहितका भाजपा नेताहरू तत्कालै अस्पताल पुगेका थिए ।
 
उनको बुधबार दिउँसो अन्त्यष्टि गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ को पहिलो कार्यकालमा ५ वर्ष विदेशमन्त्री रहेकी थिइन् । उनीले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोकसभाका लागि प्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरेअनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।
 
भारतीय जनता पार्टीकी वरिष्ठ नेता स्वराजले मंगलबार दिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘प्रधानमन्त्रीलाई धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न आतुर थिएँ ।’ 
 
विदेशमन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याति मिलेको थियो ।
 
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वसंघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् । प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, ‘भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरिब भारतीय जनताको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भूत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोतसमेत हुनुहुन्थ्यो ।’
 
यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ राजनीतिक नेता तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले मंगलबार बिहान ट्विट गर्दै भारत सरकार, जनता र परिवारका सदस्यलाई हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । सुष्माले आफूलाई भाइको सम्बोधन गर्ने गरेको स्मरण गर्दै दिदीको शोकले मर्माहत भएको जनाएका छन् । 
 
यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ट्विटमार्फत प्रतिबद्धता, दृष्टिकोण र आध्यात्मिकता भएको नेताको निधनप्रति भारत सरकार, जनता र परिवारका सदस्यप्रति गहिरो समवेदना प्रकट गरेका छन् । 
 
सुष्मा स्वराजको नेपाली साइँनो 
 
उनलाई नेपालीले पनि विभिन्न हिसाबले स्मरण गर्ने गरेका छन् । सन् २०१५ अर्थात् विसं २०७२ वैशाख १२ र वैशाख २९ गते नेपालमा आएको भूकम्पका समयमा भारतको विदेशमन्त्रीको हिसाबले उद्धारका लागि उनले तत्कालै पहल गरेकी थिइन् । 
उनले सोही समयमा अन्य देशका नेपालमा रहेका नागरिकलाई पनि उद्धार गरेर सहयोग गर्न आग्रह गरेकी थिइन् । 
 
सुष्मासँग नेपालका प्रधानमन्त्रीको निकट सम्बन्ध रहेको थियो । उनले प्रधानमन्त्रीलाई भाइको साइँनो लगाएकी थिइन् । सुष्माको पनि मृगौला प्रत्यारोपण भएको र प्रधानमन्त्री ओलीको पनि प्रत्यारोपण भएका कारण उनीहरुबीच सो विषयमा भेटघाटका समयमा दुःखसुखका वार्तालाभ हुने गरेको थियो । 
 
प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री हुनुभन्दा करिब दुईसाताअघि सुष्मा दुईदिने नेपाल भ्रमणमा आएकी थिइन् । विपक्षी नेताकै हैसियतमा ओलीले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सोही क्रममा २०१८ को फेब्रुअरी पहिलो साता सुष्मा दुईदिने नेपाल भ्रमणमा पनि आएकी थिइन् ।
 
उनी राजनीतिमा आउनुअघि भारतको सर्वोच्च अदालतकी वकिल थिइन् । भारतीय जनता पार्टीकी नेतृ स्वराज पछिल्लो समय २६ मे २०१४ बाट ३० मे २०१९ सम्म विदेशमन्त्री भएकी थिइन् । उनी भारतमा विदेशमन्त्री हुने इन्दिरा गान्धीपछि दोस्रो महिला हुन् । उनी सातपटकसम्म संसद् सदस्यका रुपमा निर्वाचित भएकी थिइन् ।
 
तीनपटक विधानसभाको सांसद् पनि भएकी थिइन् । उनी सन् १९७७ मा हरियाणा राज्यमा २५ वर्षमै सबैभन्दा कम उमेरको मन्त्री भएकी थिइन् ।  उनले दिल्लीको पाँचौ मुख्यमन्त्रीका रुपमा पनि १३ अक्टोबर १९९८ देखि ३ डिसेम्बर १९९८ सम्म काम गरेकी थिइन् ।  सन् २०१४ को आम निर्वाचनमा उनी मध्यप्रदेशको विदिशा क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनीसँगको मतअन्तर झण्डै चार लाख थियो ।
 
स्वराजलाई भारतको सबैभन्दा बढी मन पराइएकी राजनीतिज्ञको रुपमा अमेरिकी दैनिक वाल स्ट्रीट जर्नलले एक पटक घोषणा गरेको थियो । स्वराजको पार्थिव शरीरलाई बुधबार १२ बजेदेखि अन्तिम दर्शनका लागि ३ बजेसम्म पार्टी कार्यालयमा राखिने र लोधी रोडस्थित क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिने कार्यक्रम छ । अलबिदा सुष्मा स्वराज । (एजेन्सीहरुको सहयोगमा)