भरतपुर । चितवनको रामपुरमा बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणाधीन बार भत्काएको आरोपमा पक्राउ परेका बाँकी चार जनालाई पनि रिहा गर्न स्थानीयले माग गरेका छन् । घटनाका मुख्य आरोपित प्रकाश कँडेल, भैरव बस्ताकोटी, सुरेन्द्र विक र ध्रुवप्रसाद चापागाईंको रिहाइको माग गर्दै स्थानीय चार टोल विकास संस्थाले निरन्तर धर्ना दिएका छन् ।
धर्ना कार्यक्रममा स्थानीय प्रकृति टोल विकास संस्था, राधाकृष्ण टोल विकास संस्था, रामपुर टोल विकास संस्था र शान्तिदीप टोल विकास संस्थामा आबद्ध स्थानीयहरुको सहभागिता रहेको थियो ।
घटनामा संलग्न अन्य १४ जनालाई प्रहरीले सोमबार छाडेको थियो । बाँकी चार जनालाई पनि विनासर्त रिहा गरी बाटोको सुनिश्चितता गर्न स्थानीयहरुले आग्रह गरेका छन् ।
सोही ठाउँमा रंगशाला बन्नुपर्छ भन्ने माग स्थानीयको रहेको प्रकृति टोल विकास संस्थाका सदस्य रामचन्द्र बस्ताकोटीले बताए । विभिन्न बहाना बनाएर रंगशाला निर्माणको कामलाई छाड्न नहुने उनको भनाइ छ ।
निर्माणाधीन रंगशाला भरतपुर महानगरपालिका वडा नं १५ र १६ को सिमानामा पर्छ । रंगशालाको पश्चिमी क्षेत्रमा रहेको बाटोका कारण विवाद उत्पन्न भएको थियो । विवादित बाटोलाई ३१ मिटरको बनाउनुपर्ने माग स्थानीयको नरहेको भन्दै बस्ताकोटीले स्थानीयलाई विस्थापित हुनबाट पनि जोगाउनुपर्ने बताए ।
‘हामी विकास-निर्माणविरोधी होइनौँ, रंगाशाला बन्नुपर्छ भनेर हामीले भन्दै आएका पनि छौँ,’ स्थानीय चन्द्रकला रामदामले भनिन्, ‘तर, हामीले आफ्नो हक अधिकारको माग गर्दा उल्टै विकास विरोधीको बिल्ला भिराइयो ।’
बाहिर देख्दा फाउन्डेसनसँगको झगडाजस्तो देखिए पनि उनीहरुको आक्रोश भने स्थानीय सरकार र कृषि तथा वनविज्ञान विश्वविद्यालयसँग छ । ‘फाउन्डेसनले त अहिले रंगाशाला बनाउन थालेको हुँदा भोलि हाम्रो उठिबास हुने पो हो कि भन्ने चिन्ता थपिएको मात्रै हो,’ उनले भनिन्, ‘तर, हाम्रो लडाईँ अहिलेको होइन, धेरै वर्ष पुरानो हो ।’
स्थानीय सन्तोष सुनार भने स्थानीयको मर्का नबुझी विकास गर्दा त्यसको परिणाम नराम्रो निस्किएको बताउँछन् । ‘स्थानीयलाई खुसी पार्न सके सबै काम राम्रो हुन्छ,’ उनले भने, ‘तर, यहाँ स्थानीयलाई रिस उठ्ने गराएर काम गर्न खोजेजस्तो देखियो । त्यसैले समस्या सिर्जना भयो ।’ स्थानीयलाई समस्या नपर्ने गरी विकास गरे चाहेजति सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने अनुसन्धान प्रक्रिया नटुंगेसम्म नियन्त्रणमा रहेका चार जनालाई छाड्न नमिल्ने बताएका छन् । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेकाले तत्कालै छाड्न नसकिने उनको भनाइ छ । स्थानीयको धर्नालाई प्रहरीले शान्तिपूर्ण नै मानेको उनले बताए ।
बार भत्काएको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेलगत्तै स्थानीयहरु आन्दोलित बनेका थिए । स्थानीयले पक्राउ परेकाहरुको रिहाइको माग गर्दै जेठ १९ गतेदेखि विभिन्न आन्दोलन गर्दै आएका छन् । उनीहरुले जेठ २१ गते पनि भरतपुर महानगरमा धर्ना दिएका थिए ।
प्रतिक्रिया