मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

विकास बजेट रकमान्तर गरी ३३४ सांसद्लाई ल्यापटप किन्ने तयारी

विकास बजेट रकमान्तर गरी ३३४ सांसद्लाई ल्यापटप किन्ने तयारी


काठमाडौँ । सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद् सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ । सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो । खरिदका लागि आइतबार बोलपत्र आह्वान भएको छ ।
 
आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरिएको हो । संघीय संसदन्तर्गत प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ जनालाई एक लाख रुपैयाँका दरले ल्यापटप खरिद गर्ने तयारी भएको बताइएको छ । बोलपत्रमार्फत छनोट हुने कम्पनीले मापदण्डमा रहेर ‘ल्यापटप कम्प्युटर’ खरिद गरेपछि मात्र अर्थ मन्त्रालयले लागेको रकम निकासा दिने तयारी गरेको छ ।
 
कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले विकास बजेटबाट नभई संसद सचिवालयको कुनै खर्च शीर्षकमा सांसदलाई ल्यापटपलगायतका सुविधा दिने व्यवस्था राख्न उचित हुने बताए । ‘संसद् प्रविधिमैत्री हुनु राम्रो हो । सांसदलाई ल्यापटप, कानुनको किताब, राजपत्र, एउटा कुर्सी दिने व्यवस्था राखेर क्षमता अभिवृद्धि गर्ने कुरा राम्रो हो’, उनले भने ।
 
आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप किन्न रकमान्तर गरिएको छ ।
 
पहिलो संविधानसभा र दोस्रो संविधानसभामा संसदीय दलका नेता र प्रमुख सचेतकलाई मात्रै पछि फिर्ता गर्नेगरी आइएनजिओको रकमबाट ल्यापटप दिइएको थियो । ‘आइएनजिओबाट ल्यापटप दिइएकाले त्यसको विवरण संसद् सचिवालयमा राखिएको छैन । पछि फिर्ता गर्ने भनिएका ती ल्यापटप कता गायब भए, अत्तोपत्तो छैन’, संसद् सचिवालय स्रोतले भन्यो । यसपटक पनि पदावधि सकिएपछि फिर्ता गर्नेगरी सांसदलाई ल्यापटप बाँड्न लागिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को अवधि चार वर्ष बाँकी छ ।
 
पछिल्लो समय विकास बजेट रकमान्तर गरी भौतिक सुविधाका सामग्री खरिद गर्ने प्रक्रिया तीव्र बनेको छ । एक महिनाअघि मात्रै विकास बजेटमध्येको ६ करोड १६ लाख ११ वटा स्कोर्पियो गाडी खरिदका लागि रकमान्तर गरिएको थियो। एउटा स्कोर्पियोको मूल्य ५६ लाख रुपैयाँ पर्छ । संसद् सचिवालयले गाडी खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ। गाडी खरिद प्रक्रियालाई अन्तिम रुप दिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
 
गत कात्तिकमा प्रदेश २ सरकारले पनि प्रदेशसभाका १०७ सांसद्लाई एक लाख रुपैयाँ पर्ने ‘ल्यापटप’ दिने निर्णय गरेको थियो । त्यति बेला सो कार्यको आलोचना भएको थियो । एजेन्सी