बलेवा । बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो ।
आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
टावरमा कसले के प्रयोजनका लागि आगजनी गरेको भन्ने विषयमा समेत कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताए ।
टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ ।
आगजनी भएका टावरमा एनसेलले पनि कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।
यसअघि नेकपा माओवादीको विप्लव समूहले एनसेलले बुझाउनुपर्ने कर नबुझाए टावर ध्वस्त पार्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया