काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेनु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा महानगरले रंगशाला निर्माणका लागि उपलब्ध गराउने सम्झौता भएको थियो ।
गुरुयोजना तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने फाउण्डेसनका प्रमुख सीताराम कट्टेलले जानकारी दिए ।
उनका अनुसार आईसीसीको सबै मापदण्ड पूरा गरी बन्ने रंगशालालाई गौतम बुद्ध रंगशालाको नाम दिइनेछ ।
रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेल मैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । करिब २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै रकम स्वेच्छिक सहयोगबाट उठाउने फाउण्डेसनले जनाएको छ ।






प्रतिक्रिया