मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अब पालो दार्जिलिङ्गको

अब पालो दार्जिलिङ्गको


गान्तोकलाई बाईबाई गर्दै दार्जिलिङ्ग जाने बस–बिसौनीमा बस कुर्न थाल्यौँ । घण्टौँ पर्खिएपछि दिउँसोको साढे दुई बजेतिर धन्न पर्यटकले भरिएको बस आइपुग्यो । पर्यटकहरु देखेपछि नाम्ले (कामदार) हरु असाध्यै झम्टिदा रहेछन् । बस रोकिन नपाउँदै नाम्लेहरु बसको छतमा पुगिसक्दा रहेछन् । यसरी नाम्ले काम गर्न नेपालबाट जानेहरु पनि प्रशस्तै रहेछन् । तँछाड–मछाडको तमासामा पर्यटकहरुको भारी बोकेर अलिकति पैसा कमाएपछि फेरि नेपाल फर्किंदा रहेछन् । ओखलढुङ्गा घर बताउने एकजना कटुवाल बाजे त्यहीँ भेटिए । दुईचार महिना काम गर्ने, गोजी अलिअलि गरम गर्ने र घर पुगेर फेरि फर्किने उपक्रम चल्दोरहेछ नेपालबाट जाने कामदारहरुको ।
 
उत्तर–पूर्वको पहाडी श्रृङ्खलालाई कुहिरोले डम्म ढाकेको थियो । बादल छेंडेर सूर्यले बस बिसौनीमा अलिकति टेकेको थियो । फाटफुट पानीका थोपाहरु झर्न लागेका थिए । साथीहरुले दार्जिलिङ्ग जाने टिकट पनि काटिसक्नु भएछ । हाम्रो टिमको आआफ्नो डिपार्टमेण्टले सम्बन्धित काम सम्हालिने बानी परिसकेको थियो ।
 
ड्राईभरले प्वाँ…प्वाँ… हर्न बजाएर हामीलाई बसभित्र बस्न संकेत गर्यो । हामी सबै बसमा चढ्यौँ । गान्तोक नगरीलाई यत्ति चाँडै छोड्न पटक्कै मन लागेको थिएन । तैपनि हृदयभरि यसको आकृति राखेर पौने तीन बजेतिर हात हल्लाउन बाध्य भयौँ ।
 
“यो बसको ड्राईभर ज्यादै कमजोर छ रे । आज रातको नौ बजेतिर पनि दार्जिलिङ्ग पुगिन्न रे नि !” एकजना यात्रीले भन्दै थिए । बरु दस बजे नै पुगियोस् तर यात्रा सफल होस् – म सोच्थेँ । मेरो दार्जिलिङ्ग पुग्ने उत्सुकता छिरल्लिएर चौपट्ट थियो । पछाडिबाट सारङ्गीको सुरिलो स्वर आयो ।
 
“…फोक्ल्याण्डको टापुबाट …
 
जङ्गलको बीचबाट …
 
चिठी तिमीलाई लेखिरहेछु …
 
लडाइँको मैदानबाट …।”
 
यो आवाजले मेरो मुटु चिर्यो । नेपालमा यो गीत निकै प्रचलित छ । लाहुरेको पीडा–गाथा सम्हालिएको यो गीतले निकै मार्मिक भाव बोकेको छ । लडाइँको मैदानमा आफूजस्तै निर्मोही मानिसलाई संगीनले रोप्नुपर्दा, बूटले कुल्चिनुपर्दा र झुपडीहरुमा आगो लगाउनुपर्दा यो पीडादायक चिठी लाहूरेले आफ्नी श्रीमतीलाई लेखेको हो । यही चिठीलाई गायक-गायिकाहरुले आफ्नो पारख भरेर स्वरबद्ध गरेका हुन् ।
 
हाम्रो पछाडि बसेको त्यस युवक गाइनेले गाएको स्वरप्रति प्राय: सबै यात्रीहरु आकर्षित देखिन्थे– मुग्ध देखिन्थे । यसमा तरंगिदा–तरंगिदै बसले रानीपुल ल्याइपुर् याएछ । रानीपुललाई अलिकति पनि चियाउन नपाई बसले पार गरिहालेछ । जति जति अगाडि बढ्यो उति उति नयाँ-नयाँ दृश्यहरुको चुम्बनले मेरो कौतूहलता असीम बढेको थियो । सिङ्ताम बजारको नजिकै रहेको पुल पार गर्नु अगाडि ड्राइभरले बस रोकेर सिङ्ताममा “सिक्किम लिक्कर्स” किन्न लाग्यो । यही मौकामा धन्न यस बजारको दृश्य अलिकति भएपनि टहल्न पाइयो ।
 
सिङ्तामको पुल काट्नासाथ फेरि सडक टिष्टाको किनार हुँदै हुइँकिन थाल्यो । फेरि टिष्टाका छालहरुसँगै अगाडि लम्किएको सडकले मेरो मुटु झसङ्मसङ् पारिरह्यो । यो दृश्यले एकपटक ठ्याक्कै हाम्रै मुग्लिङ्न पुर्यायो । पृथ्वी राजमार्गको काठमाडौँबाट अलिकति पश्चिममा पर्ने नौबिसेदेखि मुग्लिङ्गसम्मको भौगोलिक स्थिति यहाँ प्रकट भएजस्तो लाग्यो । नौबिसेदेखि मुग्लिङ्गसम्मको भूगोलमा कैंयौ बसहरु दुर्घटनामा परिसके । त्रिशूलीजस्तो निर्मोही त छैन होला नि टिष्टा ! मनमनमै सोच्दैरहेँ ।
 
सोच्दासोच्दै अर्को रमाइलो बजार ‘रङ्पो-बजार’ घच्याक्क हुन्छ । केटाकेटीको द्यौसीले मेरो मन तरङ्गित हुन्छ । अनुभूति अभिलेख गर्ने प्रयासहरु झन् विस्तारित हुन्छन् । तिहारको तरेलीमा म भौँतारिन थाल्छु । साथीहरुले कोला (केरा), नरिवल र केही बिस्कुटहरु किन्नुभएछ । यी खानेकुराको टोकाइसँग फेरि हाम्रो यात्रा शुरु भयो ।
 
भाइटीकाको लागि उनेर राखेको फूलको मालाहरु मिलिक–मिलिक पार गर्दै सडकले मल्लिबजार लम्किन थाल्यो । मल्लिबजार छोडेपछि जङ्गलबीचबाट कुदेका सडकको भित्ताहरुमा
 
“जहाँ काटे हैं पग पग् पर वही मेरा रास्ता है ;
 
जो सब से दुर्गम हैं वही मेरा रास्ता हैं ।”
 
तथा
 
“स्लो ड्राईभ् ईज लङ् लाईफ् !”
 
जस्ता सचेतक प्लेटहरु देखिन थाले ।
 
सडकवरिपरि र भित्ताहरुमा लेखिएका जानकारीहरु पढ्दा–पढ्दै बसले टिष्टाको झोलुङ्गे पुलमा चक्का राख्यो । ड्राइभरले दार्जिलिङ्ग पुग्न अझै अढाई घण्टा लाग्ने कुरा बताउँदै थियो । टिष्टाको किनार अब त सकियो होला भनेर ढुक्क परेको त अझै ८ किलोमिटर बाँकी नै रहेछ । त्यसपछि झिसमिसे साँझमा बस मोडिएर उकालो लाग्यो । बस्तीहरुमा बत्ती बल्न लागे । ठाउँठाउँबाट गान्तोक र कालिम्पोङका बस्ती अलि अलि चियाउन सकिन्थ्यो । रात बढ्दै गयो सबै दृश्यहरु बिलाए । बसको हेड्लाइटले घरिघरि चियाको बगानबाहेक अन्य केही देखाउन सक्दैनथ्यो । गान्तोकबाट दार्जिलिङ्ग रमिता हेर्दै जाने धोको चकनाचुर भयो ।
 
निकै माथि चढेपछि टिष्टा भ्याली भन्ने ठाउँ आइपुग्यो । ड्राइभरले यात्रीहरुलाई चिया पियाउन एकछिन बस रोक्यो । हामी पनि बसबाट उत्रियौँ । आहा ! यहाँबाट बस्तीहरुमा बलेका बत्तीहरु कति आनन्दमय पारामा चम्चमाउँदा रहेछन् ।
 
चिया पसलबाट एउटी फरासिली, मोटी, हँसिली युवतीले चियाका ग्राहकहरुलाई हँसमुख मुद्रामा स्वागत गरिरहेकी थिइन् । हामी पनि चिया पिउन लाग्यौँ । देवेन्द्रजीले चिया पिइसकेर “थ्याङ्क यू” भन्दै उठ्नुभयो । प्रति-उत्तरमा ती युवतीले हामीलाई “वेलकम्” भन्दै “बाई” गरिन् ।
 
हामी बसमा चढ्यौँ । दुईजना स्थानीय केटाहरु गिटार बोकेर चढे । एउटा केटोचाहिँ निकै भलाद्मी पाराको थियो । अर्कोचाहिँ ज्यादै झल्लु टाइपको रहेछ । मादकपदार्थ सेवन गरेको रहेछ, अत्यन्तै उच्छृङ्खल स्वभावले चम्किन थाल्यो । बस उक्लिरहेको थियो । कणेल दाइ र म एउटै सिटमा थियौँ । हामी दुवैले ती केटाहरुलाई गिटार बजाउन अनुरोध गर्यौँ । एउटा केटाले गिटार बजाउन थाल्यो । अर्कोले द्यौसिरे भाकामा गीत गाउन थाल्यो । हामी दुवैले स्वरमा स्वर थपेर ताली बजाउँदै रमाइलो गर्न थाल्यौँ । देवेन्द्रजी पनि घरिघरि हामीतिर फर्केर आनन्दोल्लासमा थप्पडी मार्नुहुन्थ्यो । गोपालजी र सोम दाइहरु आआफ्नै तालमा मस्त हुनुहुन्थ्यो । घरि गफ, घरि सुतेजस्तो । यात्राको रमाइलो यस्तै त हो ।
 
एकजना वृद्ध मानिसलाई यो कोलाहलयुक्त वातावरण ठ्याम्मै मन परेनछ क्यार ! झर्किंदै ती केटाहरुलाई हकारे । त्यसपछि त ती केटाहरुले अर्को वातावरणको श्रृजना गर्न थाले । प्रत्येक यात्रुसँग धम्की देखाउँदै देउसी खेलेबापत पैसा माग्न थाले । यात्रुहरुले पैसा नदिँदा ठाउँ–ठाउँ बस रोकाएर चमत्कार नै देखाउन थाले । अघि भर्खर्रै हकार्ने वृद्धसँग पनि उनीहरुले पैसा माग्न थाले । त्यो वृद्ध मानिसले पैसा दिन्न मात्र भनेको के थियो झण्डै पिटाइ खाइहालेका ! पछि एउटी वृद्धा महिलाले उनीहरुलाई अलिकति पैसा दिएर थाम्थुम् पारिन् । शायद ! ती वृद्धा महिला उही वृद्धा मानिसकीे धर्मपत्नी थिइन् क्यारे । पैसा माग्ने क्रम क्रमशः हामीतिर बढ्दै आएको थियो तर ती केटाहरुले हामी दुईजनासँग भने पैसा मागेनन् । हामीभन्दा पछिल्लो सिटमा गएर माग्न थाले । एकजना बम्बई निवासी यात्री नेपालीभाषी थिए । त्यो बम्बई निवासी यात्री अङ्ग्रेजीमा बोल्न थाल्यो “आई कुड नट् अण्डरस्ट्याण्ड योर ल्याङ्वेज !”
 
“ह्वाई नट् अण्डरस्ट्यान्डिङ यू माई ल्याङ्वेज ?” ती केटाहरुले पुङ्न पुच्छरको अंग्रेजी बोलेर निहूँ खोज्न थाले । अब बसको वातावरण अर्कै हुने अवस्था आइसक्यो । हामै सबै यात्रीहरुले त्यस यात्रुलाई अलिकति पैसा दिन अनुरोध गर्यौँ । यात्रीले पनि वातावरण भयङ्कर हुन लागेको बुझेछ वा हाम्रो अनुरोधलाई स्वीकारेर हो चार रुपियाँ दिएर ती केटाहरुलाई शान्त गरायो । दार्जिलिङ्ग आइपुग्न लाग्दा ती केटाहरु ओर्लिहाले । ती दुई भुस्याहा केटाहरुले यतिविघ्न यात्रीहरुलाई सताउनु सताए । हामीले केही भन्न वा गर्न सकेनौँ । ‘बिरानो देशमा झिँगाको लात्ती पनि सहनु पर्छ’ भनेको यही होला । ती केटाहरु उत्रिसकेपछि हामीले आपसमा कुरा गर् यौँ । देवेन्द्रजीले हामी पाँचैजनाको प्रतिनिधित्व गरेर पैसा दिइसक्नुभएको रहेछ र पो हामीसँग नमागेका रहेछन् ।
 
दार्जिलिङ, दीपावलीका पटका र हाम्रा भोका पेटहरु
 
“स्लो ड्राईभ ईज लङ् लाईफ !” शायद, डाइभरले राम्ररी बुझेको रहेछ क्यारे ! बसले राति नौ बजेतिर दार्जिलिङ्ग बस बिसौनीमा पुर् यायो । लजिङ्ग फुडिङ्गको लागि हामीले केही निर्णय गर्न सकेनौँ । अन्तमा ड्राइभरले हामीलाई डि.सि.एम. नामको लज देखाइदियो । धन्यवाद दिएर अँध्यारो गल्ली छाम्छुम् गर्दै लजतिर लाग्यौँ । निकैबेरपछि एकजना वृद्ध मानिसको स्वर भित्रबाट आयो । “को हो ? यति राति …।”
 
“हामी चार पाँचजना नेपालबाट आएका छौँ हजूर …।” कणेल दाइले नम्रस्वरमा तर चिच्याएर भन्नुभयो । यसपछि त्यस बूढो मान्छेले उसको कामदारलाई ढोका खोल्न अह्रायो । त्यो कामदार त्यहीँ ढोकाको छेउमा सुतिरहेको रहेछ । हामीले बोलाउँदा उ बोलेन । शायद ! उसको मालिकले उसलाई नबोल्ने आदेश दिएको हुँदो हो । ढोका खोलेर ती दुई प्राणीले हामीलाई राम्ररी हेरेर भित्र बोलाए ।
 
उसको कामदारले हामीलाई लजिङ्ग रुममा पुर्याएर – “यी हेर्नोस् ! बाथरुम यहाँ छ ! ट्वाइलेट यहाँ छ … सबै एट्याच !” भन्दै देखायो । ढोकाबाट भित्र पस्नासाथ नाक पट्ट फुट्ने गरी ढुसी गन्हायो । एकातिर भोकले लखतरान भएर शिथिल हुँदै गएका थियौँ, अर्कोतिर लजहरु सबै बन्द भैसकेको आभास मिल्यो । जसोतसो त्यहीँ बस्ने निश्चय गर्यौँ । कोठामा तीनवटा मात्रै बेड थिए । कालो कात्तीजस्तै सिरक, ह्वास्ह्वास्ती गन्हाउने बेड हुनसम्म कष्ट भयो । मैले एकचोटि यस्तै कष्ट भोगेको थिएँ । धनकुटाको पाख्रीबासबाट हिले—वसन्तपुर हुँदै ताप्जेजुङ्ग जाने बाटोमा पर्ने चौकीबजारको याद भयो । यस्तै कोठामा सुतेर म एकपटक बिरामी परेको थिएँ । यो कोठा ठ्याक्कै उस्तै थियो ।
 
भोक असाध्य लागेर खुट्टा लरबरिन लागेका थिए । खानाको खोजीमा बाहिर निस्कियौँ । डि.सि.एम. लजको कामदारले खाना यसबेला कतै नपाइने कुरा गर्दै थियो । तैपनि पाइहालिन्छ कि भनेर हामी यताउता दगुर्न थाल्यौँ । सबै रेष्टुराँ, होटलहरु बन्द भैसकेको रहेछन् । दिक्दार हुँदै लजतिर फर्कियौँ । लजको बाहिर प्राङ्गणमा आएर उभिएका मात्र के थियौँ – एकजना लामो-लामो केश पालेको युवक हामीनजिकै आयो ।
 
“के तपाईँहरुलाई लज चाहियो – आउनुहोस् मेरो लज एकदम आरामदायक छ ।”
 
“हैन हामीले लज लिईसक्यौँ बरु खाना खाने ठाउँ बताईदिनु हुन्छ कि ?”
 
“मेरो लजमा जाने भए खाना पनि पाइन्छ नत्र …।”
 
“हैन लजको लागि हामीलाई नभन्नोस् … खानाको लागि …।”
 
“त्यसो भए खाना मात्र मिल्दैन …।”
 
त्यो युवक जर्खरिएको स्वरले चिच्याउँदै हिंड्यो । हामी पाँचै प्राणी निरास भएर उभिरह्यौँ । यस लजनजिकैको एउटा घरको प्राङ्गणमा पटका पड्काउनेहरुको धुइरो थियो ।
 
“नहीं नहीं डैडी मैं पहाडिया नहीं बनुंगा …!” मेरो कानमा एक युवतीको सुरिलो आवाज ठोकियो । आवाज आएतिर फर्कें । देवेन्द्रजी र कणेल दाइ उहीँ नजिकै गएर उभिनुभएको रहेछ । म पनि त्यतै लागेँ । युवती एकदम सहासिलो पारामा पटका पड्काउने धूनमा मस्त थिई । उ सहरिया न परी! पहाडियाले यस्ता पटका पड्काउन जान्दैनन् वा डराउँछन् भन्ने आशय उसको थियो । म आश्चर्यचकित भएर उभिरहेँ । एउटा प्रश्न खडा भयो ‘के सहरियामात्र पटका पड्काउन निपूर्ण हुन्छन् वा साहसिला ?’ आफ्नो डैडीसँग बलजफ्ती गरेर युवतीले पटका पड्काई छाडी । रकेटजस्तै पटका सोझै उठ्यो अनि धूवाँ र आगोको झिल्का छोड्दै अलिक माथि पुगेर तेर्सियो र ड्याम्म पड्कियो ।
 
खाना नपाएर निरास हुँदै हामी लजतिर लाग्यौँ । “भाइ जे कुरा खान पाइन्छ ल्याइदिनुस्न !” गौतमजीले भा.रु. २० को नोट निकालेर त्यस कामदारलाई दिँदै भन्नुभयो । एकछिनपछि उसले पाँचवटा मिठाई ल्याईदिएछ । प्रति गोटा रु. चारको दरले । मिठाई पनि त्यत्ति नै रहेछ रे ! एक–एक वटा मिठाई पानीसँग खाएर सुत्ने जमर्को गर् यौँ । यस्तो भोको जीवनको यात्रा म माथि प्रथमपटक घटेको हो ।
 
(क्रमश: ….) 
ड्यालस, अमेरिका
(सन् १९९२, संस्मरण डायरीबाट)