मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रधानमन्त्री ओली न्यूयोर्कको अन्तरकृयामा

प्रधानमन्त्री ओली न्यूयोर्कको अन्तरकृयामा


न्यूयोर्क, (अमेरिका) – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसितस्तरबाट विकसित बनाउन चाहेको बताएका छन् ।
 
प्रधानमन्त्री ओलीले एसिया सोसाइटीले बुधबार न्यूयोर्कमा आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
 
उनले नेपाली जनताले राणा र शाहवंशका निरंकुशताविरुद्ध संघर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत् संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताए ।
 
प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै सहिद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गरे ।
 
उनले पूर्णबहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताए । प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भन्डार रहेको र कुनैपनि लगानीकर्तालाई सहीरूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताए ।
 
उनले ‘पिस कर्प’ कार्यक्रम सन्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गरे ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमिन सिँच्न सहयोग गर्ने र समुद्रमा हुने प्रदूषणले बादलकारूपमा हिमाललाई पनि प्रदूषित पार्नसक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेकोसमेत देखेको उल्लेख गरे ।
 
उनले कुनैपनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताए ।
 
यस व्याख्यानको सन्चालन अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले गरेका थिए ।
 
विश्वव्यापी परिस्थितिमा एसियाली तथा अमेरिकी जनता, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवर्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एसिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो ।
 
कला, व्यवसाय, संस्कृति, शिक्षा तथा नीतिका क्षेत्रमा यस सोसाइटीले अन्तर्दृष्टि प्रदान गर्छ । विचार सिर्जना गर्छ । वर्तमान चुनौतीलाई सम्बोधन गर्न सहयोग प्रवर्धन गर्छ र साझेदारीयुक्त भविष्य निर्माण गर्छ ।
 
यो गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो । यसका कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सानफ्रान्सिस्को, सोल, सांघाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिचमा रहेका छन् ।

शेयर गर्नुहोस:

0
Shares