एजेन्सी । हेर्दाहेर्दै एकमहिने विश्वकप कुम्भमेला सकिएको छ । २१औँ संस्करणको विश्वकप फुटबलमा फ्रान्सले उपाधि चुम्न सफल भएको छ । प्रतियोगितामा आशालाग्दा र यसअघिका विश्वविजेताहरु एकाएक बाहिरिँदा यसपटकको विश्वकप त्यति उत्साहजनक हुन सकेन । उपाधि नजितेका टिमहरु पनि कम देखिएनन् ।
एउटा रोचक पक्ष त के छ भने प्रतियोगिता सकिँदा हालसम्म आठ राष्ट्रले मात्रै विश्वकपको उपाधि उचाल्न सफल भएका छन् । २१औँ संस्करणमा कोस्टारिकाले उचाल्ने प्रयासलाई फ्रान्सले असफल बनाइदियो ।
सन् १९३० देखि सुरु भएको विश्वकपको इतिहासमा ब्राजिल नै हालसम्मको हिरो देखिएको छ । उसले १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी ५ पटक उपाधि चुमिसकेको छ । यस्तै इटाली र जर्मनीले पनि ४–४ पटक उपाधि चुमेको छ । १९३४, १९३८, १९८२ र २००६ मा उपाधि चुमेको इटालीले दुर्भाग्यवश यसपटकको विश्वकपमा प्रवेश पाउन सकेन । यस्तै, १९५४, १९७४, १९९० र २०१४ मा विश्वकपको उपाधि उचालेको थियो ।
यसैगरी उरुग्वेले सन् १९३० र १९५०, अर्जेन्टिनाले १९७८ र १९८६, इग्ल्याण्डले १९६६, स्पेनले २०१० र फ्रान्सले १९९८ मा उपाधि हासिल गरेका छन् ।
विश्वकप उचाल्ने राष्ट्रहरु :
ब्राजिल : ब्राजिल आफैँ फुटबलको बादशाहको रुपमा परिचित छ । अहिलेसम्म ब्राजिलले ५ पटक विश्वकपको उपाधि उचालेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी ५ पटक विश्वकपको उपाधि उचालेको छ । सन् १९५० मा ब्राजिलले विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । जुन विश्वकपमा उरुग्वेसँग २–१ ले पराजित हुँदै उपाधि रक्षा गर्ने अवसर गुमाएको थियो ।
विभिन्न समयमा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन स्टार खेलाडीहरुले उत्कृष्ट योगदान दिएका थिए । विश्वकप १९५८ मा पेलेले ६ गोल गरे भने अर्का स्टाइकर भाभाले ५ गोल गर्दै ब्राजिललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पहिलो पटक विश्वकपको उपाधि उचाल्दा आयोजक स्वीडेनलाई ५–२ गोलअन्तरले पराजित गरेको थियो ।
दोस्रोपटक विश्वकपको उपाधि सन् १९६२ मा ब्राजिलले जित्दा फाइनलमा चेकोस्लोभाकियालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि ८ वर्षपछि सन् १९७० मा जितेको थियो । फाइनल खेलमा इटालीलाई ४–१ गोलअन्तरले पराजित गर्दै ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो । त्यसपछि सन् १९९४ मा इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै चौथो पटक विश्वकपको उपाधि उचालेको थियो । सन् २००२ भएको विश्वकपमा भने ब्राजिलले जर्मनीलाई २–० गोलले पराजित गर्दै पाचौ पटक विश्वकपको उपाधि घर भित्र्याएको थियो ।
ब्राजिलले अहिलेसम्म सबै विश्वकप खेलेको छ । जसमा अहिलेसम्म ब्राजिल ११ पटक सेमिफाइनल पुगेको छ । ५ पटक विश्वकप जित्दा २ पटक उपविजेता, २ पटक तेस्रो र २ पटक नै चौथो भएको छ । त्यस्तै, ९ पटक भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
जर्मनी : जर्मनीले अहिलेसम्म ४ पटक विश्वकपको ट्रफी जितेको छ । जर्मनीको आफूलाई सधैं सशक्त टिमको रुपमा विश्वकपमा स्थापित गर्दै आएको छ ।
अहिलेसम्म जर्मनी ८ पटक फाइनलमा पुगेको छ भने ४ पटक उपाधि जित्दा ४ पटक उपविजेतामै चित्त बुझाएको छ । त्यस्तै, तेस्रो ३ र चौथो एक पटक भएको छ । सन् १९६६, १९८२, १९८६, २००२ मा जर्मनी उपविजेता बनेको थियो । सन् १९७०, २००६ र २०१० मा गरी तीन पटक तेस्रो भएको जर्मनी सन् १९५८ मा भने चौथो भएको थियो ।
अहिलेसम्मको विश्वकप फुटबलको इतिहासलाई हेर्ने हो भने पनि फाइनलमा सबैभन्दा बढी पुगेको देश हो जर्मनी ।
सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि जर्मनीले सहभागिता जनाउँदै आएको छ । यद्यपी दोस्रो विश्व युद्धको सिकार बनेको जर्मनीले सन् १९५० मा ब्राजिलमा भएको विश्वकप भने खेल्न पाएन । स्वीट्जरल्याण्डमा सन् १९५४ मा भएको विश्वकपको उपाधि जर्मनीले पहिलो पटक उचालेको थियो । त्यसबेला फाइनलमा जर्मनीले हंगेरीलाई ३–२ गोलअन्तरले पराजित गर्दै इतिहास रचेको थियो ।
सन् १९७४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्ने अवसर जर्मनीले पायो । जुन विश्वकपको फाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो पटक जर्मनीले ट्रफि भित्र्याएको थियो । इटालीमा सन् १९९० मा भएको विश्वकपको पनि उपाधि जर्मनीले जितेको थियो । फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको थियो । जर्मनीले सन् २०१४ मा अर्जे्न्टिनालाई १–० गोलले पराजित गर्दै चौथोपटक विश्वकपको उपाधि चुमेको थियो ।
इटाली : इटाली फुटबलमा सफल राष्ट्र मानिन्छ । इटालीले विश्वकप फुटबलको उपाधि ४ पटक जितेको छ । इटालीले सन् १९३४ को दोस्रो विश्वकप फुटबलको आयोजना गरेको थियो । दोस्रो विश्वकपको उपाधि पनि आयोजक राष्ट्र इटालीले नै जित्दै उसले विश्व फुटबल इतिहासमा आफ्नो इतिहास लेखाउन सफल भएको थियो । फाइनल खेलमा चेकोस्लोभाकियालाई थप गरिएको अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै इटालीले उपाधि उचालेको थियो ।
सन् १९३८ को तेस्रो संस्करणको विश्वकप फुटबल फ्रान्समा सम्पन्न भएको थियो । लगातार दोस्रो पटक इटालीले विश्वकपको उपाधि जित्दै अर्को इतिहास बनाएको थियो । त्यतिबेला इटालीले फाइनलमा हंगेरीलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।
इटालीले तेस्रो उपाधि स्पेनमा सम्पन्न सन् १९८२ को विश्वकपमा जितेको थियो । १२ औं संस्करणको विश्वकपको उपाधि इटालीले जितेको थियो । इटालीले सन् २००६ मा चौथो पटक विश्वकपको उपाधि उचालेको थियो ।
जुन ९ देखि जुलाई ९ तारिखसम्म जर्मनीले १८औं विश्वकप फुटबलको आयोजना गरेको थियो । फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै इटालीले चौथो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । निर्धारित समय र थप गरिएको समयसम्म दुबै टिमले १–१ गोलको बराबरीमा सकिएपछि फाइनल खेल पेनाल्टीमा धकेलिएको थियो ।
१८ पटक विश्वकप खेलेको इटाली अहिलेसम्म ६ पटक फाइनलमा प्रवेश गरेको छ भने त्यसमा ४ पटक विश्वकपको उपाधि उचाल्दा २ पटक उपविजेता बनेको छ । सन् १९७० मा मेक्सिकोमा सम्पन्न विश्वकपको फाइनलमा ब्राजिलसँग ४—१ गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै, इटाली अमेरिकामा भएको सन् १९९४ को विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा यो पटक पनि इटालीको लागि उपाधि चुम्ने बाधक ब्राजिल बनेको थियो । पेनाल्टी सुटआउटमा इटाली ब्राजिलसँग ३—२ गोल अन्तरले स्तब्ध बनेको थियो ।
अर्जेन्टिना : ८८ वर्षे विश्वकपको इतिहासमा अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि उचालेको छ । विश्वकपमा दुई पटक अर्जेन्टिनाले विश्वकप जित्दा तीन पटक उपविजेता बनेको छ ।
तीन पटक उपविजेता हुँदा दुई पटक फाइनलमा जर्मनीसँग अर्जे्न्टिना पराजित भएको छ । त्यस्तै, एक पटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अर्जेन्टिनासँग तितो इतिहास छ ।
अर्जेन्टिनाले पहिलो पटक सन् १९७८ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि अर्जे्न्टिनाले उचाल्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जर्मनीलाई पराजित गर्दै अर्जे्न्टिनाले दोस्रो पटक उपाधि उचालेको थियो ।
उरुग्वे : विश्वकपको जन्मदाता उरुग्वेले अहिलेसम्म २ पटक विश्वकपको उपाधि उचालेको छ । सन् १९३० को पहिलो संस्करणको विश्वकप फुटबल आयोजना गरेको उरुग्वे पहिलो एतिहासिक विश्वकपको ट्रफि उचाल्दै इतिहास बनाएको थियो ।
आफ्नै भूमिमा भएको पहिलो ऐतिहासिक विश्वकपको उपाधि उरुग्वेले अर्जे्न्टिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै जितेको थियो । समुह चरणको खेलमा उरुग्वेले पेरुलाई १—० र रोमानियालाई ४—० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा उरुग्वेले युगोश्लाभियालाई ६—१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
दोस्रो विश्व युद्धपछि पुन १९५० मा ब्राजिलमा भएको विश्वकपको उपाधि दोस्रो पटक जित्दै उरुग्वेले इतिहास बनाएको थियो । आयोजक ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै उरुग्वेले विश्वकपको ट्रफि चुमेको थियो । त्यसपछि उरुग्वेले सन् १९५४, १९७० र २०१० मा उरुग्वे सेमिफाइनल पुग्दै चौथो भएको थियो ।
इंग्ल्यान्ड : इंग्ल्याण्डले विश्वकपको उपाधि १ पटक मात्र उचालेको छ । त्यो पनि ५२ वर्षअघि, सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकप । फाइनलमा जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको इंग्ल्याण्ड त्यसयता एक पटक मात्रै सेमिफाइनलमा पुगेको छ । सन् १९९० मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेपनि इंग्ल्याण्ड उही जर्मनीसँग पराजित भएको थियो ।
इतिहासमा इंग्ल्याण्ड अहिलेसम्म १४ पटक विश्वकप खेलेको छ । सन् १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९८२, १९८६, १९९०, १९९८, २००२, २००६, २०१० र २०१४ मा गरी इंग्ल्याण्डले १४ पटक विश्वकप खेलेको छ । एक पटक विजेता बन्दा एक पटक चौथो र ५ पटक क्वारटफाइनलमा इंग्ल्याण्ड पुगेको छ ।
फ्रान्स : फ्रान्सले अहिलेसम्म २ पटक विश्वकप फुटबलको उपाधि उचालेको छ । सन् १९३० मा सुरु भएको पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सको लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भने सन् १९९८ मा फ्रान्समै भएको विश्वकप हो । त्यसपछि २१ औं संस्करणको रसियामा भएको अर्को विश्वकप रह्यो । क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्स च्याम्पियन बनेको हो ।
पहिलो पटक विश्वकपको आयोजना गरेको फ्रान्सले विश्वकपको उपाधि उचाल्दै ऐतिहासिक सफलता पाएको थियो । त्यसबेला फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रो पटक उचाल्ने फ्रान्सको सपना इटालीले चकनाचुर बनाएको थियो । यो विश्वकपमा इटालीसँग फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो । फ्रान्स सन् १९५८ र १९८६ मा दुई पटक विश्वकपको तेस्रो भएको छ । त्यस्तै, सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो ।
स्पेन : इटालीमा सम्पन्न भएको दोस्रो विश्वकप सन् १९३४ देखि सहभागिता जनाएको स्पेनले अहिलेसम्म १ पटक मात्रै विश्वकपको उपाधि उचालेको छ । स्पेनले सन् २०१० मा भएको विश्वकप फुटबलको उपाधि पहिलो पटक जितेको थियो । फाइनलमा नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै स्पेनले इतिहास रचेको थियो । यो खेलमा नायक बनेका थिए सन्यासको संघारमा रहेका आन्ड्रेस इनिएस्टा । उनकै गोलमा स्पेनले उपाधि चुम्न सफल भएको थियो । -एजेन्सीको सहयोगमा






प्रतिक्रिया