नेपाल

गृहमन्त्रीले भने– “४० प्रतिशत सजाय भोगेका कैदीलाई जेलमुक्त गर्छु”

गृहमन्त्रीले भने– “४० प्रतिशत सजाय भोगेका कैदीलाई जेलमुक्त गर्छु”


 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जेल सानो नेपाल भएको प्रतिक्रिया दिएका छन् । 
 
आइतबार भरतपुर कारागार अवलोकन गर्दै उनले भने, “बाहिर जे समस्या छ त्यो जेलभित्र पनि छ । यसलाई सुधार गर्ने पद्दति निर्माण गर्न हामी लागेका छौं ।” 
 
गृहमन्त्री थापाले जनताले नयाँ सरकार बनाएकाले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीबन्दीलाई जेलमुक्त गर्ने ऐन संशोधनमा गृहकार्य थालिएको बताए । 
 
गृहमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका उनले जेलभित्र शोषण र अपराध नहोस् भनेर नयाँ नीति बनाउन लागिपरेको बताए । 
 
आफू स्ययं यही जेलमा ६ महिना बसेको स्मरण गर्दै उनले भने, “जेलभित्रको समस्याका बारेमा म पूर्णरुपमा जानकार छु । त्यही समस्यालाई मध्येनजर गरी जेल सुधार कार्यक्रम लागू गर्नेछौं ।”
 
नयाँ सरकारले अपराधीलाई जेलमा आएर सोच, चिन्तन बदल्ने सुधारगृहका रुपमा विकास गर्ने विभिन्न योजनाहरु बनाइरहेको बताए । जेलमा दुईथरीका बन्दी रहेको उल्लेख गर्दै उनले थपे, “एउटा अपराध गरेर ल्याइएका र अर्को फसाइएका पनि छन् । राज्यले जेलभित्र रहेका बन्दीलाई सभ्य नागरिक बनाउनेतर्फ सोचिरहेको छ ।” 
 
उनले कैदीबन्दीको सिदा वृद्धिको निर्णय गरिसकेको बताउँदै १९ हजार कैदीबन्दीको सिदा वृद्धि गर्दा कुनै समस्या नपर्ने उल्लेख गरे । कारागारको स्थलगत अवलोकनसँगै गृहमन्त्रीले कैदीबन्दीसँग करिब आधाघण्टा समस्याका बारेमा सोधपुछ गरेका थिए । 
 
कैदीबन्दीले समयमै स्वास्थ्य उपचार नपाएकोे, जेलको क्षमताभन्दा बढी बन्दी रहनुपरेको, खानालगायतका समस्या सुनाएका थिए । 
 
उनले कैदीबन्दीलाई समयमै उपचारसँगै कामसँग जोड्ने, उद्योग–व्यवसायमा लगाउनेलगायतका योजनाहरु छिट्टै सार्वजनिक गरिने प्रतिबद्धता जनाए ।