चितवन । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ भएका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका थिए ।
निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उहाँले अहिले बाघ देखिएन अर्काेपटक आउने बताएका हुन् ।
ढुंगानाले भने, “पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ।”
वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गरेका थिए ।
उनीसँगै सांसदहरु, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहेका थिए । बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज प्रवेश गरेका देउवा १०ः३० बजेमात्रै फर्किएका थिए । रासस
प्रतिक्रिया