दुइ दशक अघिको सन्दर्भ हो । मेरो जिल्लामा नाम चलेको एउटा सामाजीक संस्था थियो । संस्थामा अधिकांश पदाधिकारीहरु एमाले, राप्रपामा आवध्द थिए । केही सदस्यहरु नेपाली कांग्रेसमा आस्था राख्दथे । उनीहरु मताधिकार प्रयोग गर्नुपर्दा कांग्रेसका उम्मेदवारलाई दिन्थे । तर कांग्रेसको कुनै पनि तहमा उनीहरु संगठित रहेको भने जानकारी थिएन ।
हरेक दुइ वर्षमा संस्थाको अधिवेशन हुन्थ्यो । नेतृत्व फेरिन्थ्यो । तर कांग्रेसमा आस्था राख्ने ती दुइ जनाले कहिल्यै अवसर पाएनन् ।
'यी त काला कांग्रेस हुन्, कहाँ पदाधिकारी बनाउन हुन्छ ? यिनीहरुलाइ त कार्यसमितिको सदस्यभन्दा माथि उकाल्नै हुँदैन,’ नेतृत्वमा रहेकाहरु यसो भन्थे । कहिल्यै नेतृत्व नपाउने देखेपछि दुबैले संस्था छाडे ।
झण्डै पाँच वर्ष भयो अमेरिका अाएको । यसबीचमा केही राज्यहरूका संघसंस्थाहरूलाइ नजिकबाट नियाल्ने अवसर पनि मिल्यो । तर, प्रवासका संस्थाहरूको अवस्था पनि माथि उल्लेखितभन्दा फरक भेटिएन । नेपालमा कुनै संस्थानको महाप्रबन्धक, एमडी, अध्यक्ष, कार्यकारी निर्देशक कसैलाइ बनाउन मन लागेन भने तिनलाइ फ्याँक्ने सबैभन्दा सजिलो उपाय छ-'फलानो त वामपन्थी हो ।' 'अँ ढिस्कानो त कालो कांग्रेसी हो नि ।' 'अझै उ त मण्डले हो ।'
यस्तैयस्तै विशेषण र आरोप लगाएर सक्षमलाइ समेत पन्छाइन्छ । मनोनयन, नियुक्ती, अवसरमा सबैभन्दा अगाडी हेरिने आधार बनेको छ- 'पार्टीको झण्डा बोकेको छ कि छैन ?'
यतिखेरको अमेरिकाका नेपाली संघसंस्थालाइ भित्र गएर हेर्दा नेपालमा भन्दा पनि विकराल समस्या भेटिन्छ । राज्यराज्यमा खुलेकादेखि लिएर शहरैपिच्छेका संस्थामा नेपालका दल नजोडिएका भेटिन मुस्किल पर्न थालिसक्यो । दलमा पनि को मान्छे कुनचाँहि नेता निकट छ भनेर केलाउन थालिएको अवस्था छ ।
भन्नलाइ 'सबै नेपालीलाइ एकजुट गराउने भनेर नेतृत्वकर्ताहरू थाक्दैनन् । व्यबहारमा भने एकले अर्काको खुट्टा तान्ने, चुक्ली लगाउने, कोही माथि पुगिहाल्यो भने यसले त मलाइ टेर्दैन भन्ने चिन्ता धेरैमा व्याप्त छ ।
यतिखेरको सन्दर्भ हो अमेरिकाको एनआरएन चुनावको । जसरी मातृभूमिमा कुनै अवसरका लागि राजनीतिक आस्था र विचारलाइ मापदण्ड बनाइन्छ, यहाँ पनि त्यही महारोग फैलिँदै गएको छ । जहाँ एकले अर्काको पत्तासाफ गर्नका लागि राजनीतिको तीर प्रहार भैरहेको छ ।
‘फलानो त खाँटी वामपन्थी हो, कहाँ भोट दिनहुन्छ ?’
'फलानो त नेपालमा छँदा नेबिसंघको राजनीति गर्थ्यो । कहाँ जिताउनुहुन्छ ?'
‘अँ, उसका ढिस्कानो नातेदार त राजावादी पो हुन् त । कहाँ ती मण्डलेलाइ जिताउने कुरा गरेको ?'
यी र यस्ता कानेखुशीहरू हिजोआज अमेरिकाको प्रवासी समाजमा असाध्यै सुनिन थालेका छन् । अमेरिकन-नेपाली समुदायमा नेपालको राजनीतिसँग जोडिनु र नजोडिनु दुबै पाटो व्यक्तिका कमजोरीका रूपमा व्याख्या र विश्लेषण हुँदै अएका छन् ।
नेपालका कुनैपनि राजनीतिक दलको भातृसंस्थामा यहाँ बसेकालाइ पनि त्यत्तिकै विरोध भैराखेको छ । नबसेर स्वतन्त्र जीवन बिताउँदै गरेका, नितान्त सामाजीक कृयाकलापमा मात्र केन्द्रीतलाइ अझै ज्यादा विरोध भैराखेको छ।
एनअारएनका एकजना उम्मेदवार जो नेपालको कुनै पनि पार्टीको प्रवासी भातृसंस्थामा बसेनन् त्यसरी नबस्नु उनका विपक्षीका नजरमा खोट भएको छ । भलै उनले अमेरिकामा आर्थिक सहयोग नगरेको र सहयोग नलिने कुनै संघसंस्था भेट्टाउन मुस्किल छ अहिले । अमेरिकाका राज्यपिच्छेका नेपाली संघसंस्थामा यी र यस्ता प्रवृति असाध्यै बढेको छ । जो अाफूलाइ प्रजातान्त्रिक संस्कारबाट हुर्किएको भन्छन् उनीहरूले समेत चित्त नबुझाउने अवस्था छ ।
नेपालमा नेपाली कांग्रेसको राजनीति गरेका र अमेरिका आएपछि कांग्रेसको भातृसंस्थाका रूपमा परिचित जनसम्पर्क समितिमा रहेका संजीव श्रेष्ठ केही दिन अघि एनअारएनका अध्यक्षका उम्मेदवारका रूपमा परिचित गाैरी जोशीको नाम लिँदै ड्यालसमा गुनासो गर्दैथिए-’जनसम्पर्कको ड्यालस अधिवेशनमा सकृय सहयोग गर्दा उ कांग्रेसी भयो, अघिल्लो एनआरएन चुनावमा सहयोग गर्दा कांग्रेस हुने, नेपालबाट नेताहरू आउँदा एअरपोर्टमा गएर खादा पहिर्याउँदा कांग्रेस हुने, नेपालका चुनावमा कांग्रेसका उम्मेदवारलाइ आर्थिक सहयोग गर्दा पनि खाँटी कांग्रेसै भयो । तर एनआरएन अमेरिकाको अध्यक्षमा उठ्दा उ वामपन्थी हुने ? यो कस्तो राजनीति गरिराखेका छौँ हामी ?
संजीबको भनाइलाइ सही थाप्दै अरूले थपे-’त्यतिमात्र कहाँ हो र ? वरिष्ठ उपाध्यक्ष पदमा बस्न स्विकार गर्यो भने गौरी कांग्रेस हुन्छ । तर अध्यक्षमै उठ्छु भनेर अघि बढ्यो भने वामपन्थी भइराखेको छ ।'
हिजोआज प्रवासको नेपाली समाज असाध्यै यी र यस्तै कुराले विभक्त छ । नेपालको राजनीतिको आधारमा, नेपालको क्षेत्रीयताको आधारमा, जातीयताका आधारमा नेपालीहरू विभाजित छन् । पार्टीको भातृसंस्था, जातीगत संस्था, तराइको संस्था, सुदूर पूर्बदेखि सुदूर पश्चिमको संस्थामा नेपालीहरू विभाजित छन् ।
यसको असरले आफूलाइ मन नपर्ने उम्मेदवारलाइ 'कालो कांग्रेस' 'वामपन्थी', 'मण्डले' देखि लिएर भेगीय आधारमा समेत अभियोग लगाउने कार्य सामान्य हुँदै आएको छ ।
कसैलाइ कुनै संस्थाबाट सिध्याउन पर्यो भने 'बामपन्थी' को खोट लगाइदिएर अस्तित्व समाप्त पारिदिने खेल अमेरिकामा असाध्यै भेटिन्छ ।
नेपाली कांग्रेस भन्दैमा खराब हुन्छन् भन्ने मानसिकता एउटा समूहमा दह्रोसँग गडेको छ । अर्को समूहमा कुनै समय एमाले वा कुनै वामपन्थी दललाइ सघाएको आधारमा यी त ठूलै अपराधी हुन् भन्ने छाप छ ।
अनि पञ्चायतकालमा कुनै पदमा बसेको, राजालाइ सघाएकै आधारमा यी त खाँटी मण्डले हुन् भन्ने दृष्टिकोणमा अझै परिवर्तन आएको छैन । अरू बेला परिवर्तनको आभाष भएपनि संगीन घडीमा, अवसर पाउने बेलामा यी र यस्ता आरोप लगाएर, कारण दर्शाएर उनीहरूलाइ भूमिका विहिन बनाइएका उदाहरण स्वदेशदेखि प्रवाससम्म अनगिन्ती देखिन्छन् । यी सबै अतिवादका पराकाष्टा हुन् । जसले अमेरिकाको नेपाली समाजलाइ अमेरिकामा अघि बढाउने होइन, नेपालकै सेरोफेरोमै रूमल्लिने, उतैको राजनीति, नेताका कुरा गरेर समय सत्यानाश गर्नेतिरै अग्रसर गराइराखेको छ ।
प्रवासमा हेरिनुपर्ने हो समाजसेवामा लाग्छु भन्नेको लगाव, उसको विगत र अहिलेको अवस्था । तर उसले कुनै समय कोही अमूक व्यक्तिलाइ सहयोग गरेको आधारमा उसले प्रवासमा योगदानलाइ धुलिसात पार्ने प्रयास नभैदिए कम्तिमा असल संस्कारलाइ हामीले विजारोपण गर्न सक्ने थियौँ ।
मान्छेको मापन उसको समर्पण, समयको उपलव्धता र विगतको योगदानलाई लिएर हुनुपर्छ । नकी नेपालको राजनीतिमा आधारित रहेर । कोहीकसैको हकमा पनि नेपालको राजनीतिको कसीमा हालेर मूल्यांकन गर्ने संस्कारले हामी प्रवासको नेपाली समाजलाई एकतावध्द होइन विभाजित बनाउदैछौँ ।
एनआरएनको सन्दर्भमात्र होइन । अमेरिकामा हामी नेपालीहरु अनेकतामा एक भएर जिउनुपर्ने थियो । तर भएको छ–एकतामा अनेकता । माथिनै उल्लेख भएजस्तो अनेक कारणले हामी विभाजित छौँ । सबैभन्दा ज्यादा चाँही नेपालको राजनीतिक दलको झण्डा बोकेर अमेरिकाको नेपाली समाज विभाजित छ । जसले व्यक्ति जतिसुकै सक्षम र योग्य भएर पनि उसले नेपालमा छँदा भोट हालेको दललाई आधार मानेर असल र खोटो भनेर परिभाषित गर्ने परिपाटीले हामीले हाम्रा सन्ततीलाई कस्तो संस्कार सिकाउदैछौ ?
मान्छेले नेपालमा रहँदा कुन दललाई भोट हाल्यो भन्ने आधारलाई लिएर यता प्रवासमा त्यसैको आधारमा व्यक्तिलाई मापन नगरिदिए हाम्रा सन्ततीलाई असल संस्कार सिकाउन सक्ने थियौँ ।
कुनै राजनीतिक दल, कोही उम्मेदवारलाई नेपालमा भोट हाल्दैमा यतातिर खोटो भन्न छाडौ । योग्यलाई योग्य भन्न सिकौँ । सामाजीक संघसंस्थाको पद भनेको लाभ हुने, तलब भत्ता, पारितोषिक मिल्ने ठाउँ होइन । त्यसो हुँदा पालैपालो सके मिलेर चलाउँ । अरुलाई अवसरै नदिने, दोहो¥याउने नगरौँ । त्यसो भयो भनेमात्र पनि अमेरिकाको नेपाली समाज विभाजित भएर खुट्टा तानातान गर्ने, हिलो छ्याप्ने काम बन्द हुने निश्चित छ ।
र, एउटा तथ्य नभुलौँ– कुनै दललाई भोट हालेकै आधारमा कोही खराब पनि हुँदैन नत सबै असल हुन्छन् । चरी जस्ता मान्छे एमालेमा पनि थिए र कुमार घैँटे जस्ता बदनाम चरित्रहरु पनि कांग्रेसमा थिए ।
प्रतिक्रिया