मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बल्ल बुझ्दैछु के रहेछ जीवन !

बल्ल बुझ्दैछु के रहेछ जीवन !


सारभूत सत्य स्वीकार्नु  नै सहज पक्ष रहेछ जीवनको । आमा हुँदा र नहुँदाको खालीपन ,  शून्यता र फरक गहिरोसँग महसुस भयो यो वर्षभरि । किन ? , कसरी  ? जस्ता अनुत्तरित प्रश्नहरूले थप पीडा बोक्दो रहेछ । चिन्तन सँगसँगै उब्जिएका अबोध छटपटिहरूले  कति रात अनिन्द्रा मै बितेको यथार्थ एकातिर थियो ।  बोध र अबोधको अवस्था कति फरक हुँदो रहेछ ।
 
हजुरआमा बितेपछि शरीर फ्याँकेर बैठकमा लडिबुड़ी गर्दै आमा रुनुभएको दृश्य बारम्बार मेरो सामुन्ने खड़ा भयो जब आमा बितेको खबर मैले पाएँ । त्यति बेला निरीह भएर  हेरिरहेकी थिएँ आमालाई ।  यद्यपि ममतामयी हजुरआमा बितेको दुखः मलाई पनि थियो ।  आमाको  त्यो  पीडा कस्तो हुँदो रहेछ बाइस वर्षपछि आफ्नी आमा मरेपछि थाहा भयो । 
 
चार वर्ष भएको थियो आमासँग प्रत्यक्ष भेट नभएको ।  लामो बिछोड पश्चात् अमेरिकामा भेट हुने मिति तय भइसकेको थियो ।   आमा छोरी दुवै औधि खुशी थियौँ ।  भेट हुन मात्र हप्ता दिन बाँकी हुँदा अक्स्मात आमा बितेको खबर बज्रपात बनेर वर्षियो ममाथि  । त्यही वैशाख जसले गत साल  निमेष भरमै टप्प टिपेर लग्यो आमालाई । यसैकारण कालो बादलले ढाकेसरि अशान्ति छाईरह्यो वर्षभरि मनमा। 
 
रोग , शोक र उमेरले आमालाई लगेको भए सायद त्यति असहज हुने थिएन होला । जीवनका कस्ता जटिल परिस्थितिसँग सजिलै जुध्ने सशक्त जुझारु आमालाई सेकेण्ड भरमै मृत्युले लगेको कुरा किमार्थ पचाउन गार्हो भयो मलाई । 
 
जीवनका गुढ़ रहस्यहरुप्रति एकाएक मेरा कौतुहलहरु , खोजहरु जागृत हुन थाले । उकुसमुकुस हुन्थ्यो कुनैबेला । एकाएक गीत र संगीतप्रति निरस बन्यो ह्रदय । आध्यात्मिकता जुन सुसुप्त अवस्थामा हरेक मानव भित्र हुन्छ म भित्र पनि केही सलबलाउन थाले जस्तो लाग्यो । यस्तै आंतरिक ज्ञान र जीवन जगतकाबारे भ्याए सम्म खोजेर सुन्न र  पढ़न थाले । कहीँ कतै पुनर्जन्म सम्बन्धी समाचार र टिप्पणीहरु खोजी खोजी पढ़े । कुनै न कुनै रूपमा आएर आमा बुबा मसँग क़ुरा गरे हुन्थ्यो , आभास दिए हन्थ्यो भन्ने लाग्थ्यो । तर उहाँलाई मैले सपनामा बाहेक कहिल्यै  कतै भेटिन । बडो सावधानीका साथ तयार थिएँ म तर पटक्कै कुनै केही महसुश गर्न सकिन । 
 
एक दिन हिमालयखबरका प्रधान सम्पादक  विजय घिमिरे र सम्पादक विकास राज न्यौपाने ह्युस्टन हाम्रो घर आईपुग्नु भयो । महिना दिन अघिको कुरा हो यो । त्यो आगमन साधारण  नभएर असाधारण भयो मेरोलागि । इश्वरलाई सायद अरु केही मन्जुर  थियो । अचानक विजयजीको हातमा रहेको सानो पकेट पुस्तिकामा मेरो नजर पर्यो ।   हिन्दीमा लेखिएको थियो " कहाँ है हमारे दिवङ्गत प्रियजन ? "  जिज्ञासावश मैले पुस्तक पढ़न खोजे ।  हातमा पुस्तक दिँदै उहाँले श्री श्री परमहंस योगानन्दजीको अटोवायोग्राफि पढ़ने सुझाव दिनुभयो  । कौतुहलतावश सोधेँ कहाँ पाइन्छ  पुस्तक ? " कुनै पनि  नजिकको लाइब्रेरिमा । " उहाँको उत्तर सहज थियो । तर मेरोलागि भने कठिन । अति उपयोगी र धेरै पढिएको किताब भनेर  उहाँले जानकारी गराउदै गर्दा मैले उत्तिनै खेरी त्यो पुस्तक पढ़ने तय गरिसकेकी थिएँ मनमा ।
 
लाइब्रेरी गएर पुस्तक पढ़ने समय कहाँ थियो र मसँग !  काममै समय चोरेर त्यो सानो पकेट पुस्तिका पढ़ेपछि मेरो खुलदुली झन् बढ्यो । श्री परमहंस योगानन्दजीको अंग्रेजीमा अटोवायोग्राफी र हिंदी भर्सन कथामृत पढ़न झन् लालायीत भएँ  । गुगलमा सर्च गरेर  हेरेँ । धन्य भगवान् ! खुसीले पुलकित भएँ म । यति गजबको पुस्तक ! पढिरहुँ जस्तो छोड्नै मन नलाग्ने । आजसम्म पढे मध्येको सर्वत्कृष्ट  पुस्तक ।  उपयोगी मात्र होइन , जीवनको गुढ़ रहस्यलाई उजागर गर्ने अमृत नै पाए जस्तो लाग्यो मलाई कथाअमृत ।
 
लाग्थ्यो, मृत्युसँगै सबै समाप्त हुन्छ। कथाअमृतको रसस्वादनले मेरो सोच मात्रै परिवर्तन गरेन अपितु जीवनको सूक्ष्म पहेलिको बोध समेत गरायो । नश्वर शरीर त्यागे पछि पनि आत्मा रहने रहेछ। शुशुप्त अवस्थामा  , अर्कै जगतमा । त्यो त्यस्तो जगत जुन हामीले कहिले कल्पना समेत गरेका थिएनौं । पुस्तकको माध्यमबाट प्रकाशको किरण पुन्ज जस्तो त्यस्तो  जगतको सयर गर्दा रोमांचित भएँ म ।  यी  यावत कुरा यो छोटो आलेख मार्फत बताउन खोज्नु सायद मेरो धृष्टता  हुनेछ। बुझ्न झन् कठिन । स्वयम् पुस्तक नपढेसम्म परम आनन्दको अनुभूति गर्न सकिन्न। कुरा आस्था र विश्वासको हो ।  पढेपछि मेरा आस्थाहरु स्वतःस्फूर्त जगमगाए । त्यसैले केही बोधानुभूति बाड़न उचित सम्झेको मात्र हुँ ।
 
ज्ञान र विज्ञानको बिचको फरकलाई  तार्किक रूपमा गरिएको विश्लेषणले छक्क परे म । सृष्टिमा रहेका यथावत चिजलाई विज्ञानले आविष्कारको नाम दिएको छ । जस्तो न्यूटनको ग्र्याभिटी सिद्धान्त। पृथ्वीको आकर्षण शक्ति  न्यूटनले सिध्दान्त प्रतिपादित गर्नुभन्दा पहिले पनि यथावत थियो, छ र रहिरहनेछ ।
 
हामी देखिएको र बुझेको मात्र सत्य मान्छौं तर जगत ब्रम्हाण्डमा नदेखिने, नथापाइने कति कुरा छन् जून शास्वत सत्य छन्। पूर्व जन्म , पूर्व कर्म र फलका कुराहरू अहिले बुझ्दा जादाँ आफै आश्चर्यचकित परेकी छु । 
 
योगानन्दजीको जीवन कथाका यस्ता अनेक सन्दर्भ छन् जुन पढेर जीवन जगतका कतिपय क़ुरा बुझ्न सकिन्छ ।  योगको माध्यमबाट  जीवन कसरी सार्थक हुन्छ ?  उल्ल्लेखित अन्य सन्त , साधु , बाबा र स्वामीजीहरुसँगको भेट प्रसंग अति नै रोमांचित पार्ने खालको छ।  हामी किन जन्मियौ ? कहाँ जान्छौं ? कहाँ बस्छौ ? फर्केर आउछौं की आउदैनौ ? कहिले आउछौं ? यी सबै प्रश्नहरूको चित्त बुझ्दो निराकरण पाउनु सामान्य कुरा होइन । 
 
जीवनमा घट्ने हाम्रा हरेक घटनाहरू बेमतलवका हुदैनन् । त्यसका पछाडि कुनै न कुनै कारण र रहस्यहरु हुँदा रहेछन् ।  सतकर्म नै धर्म हो । पुस्तकबाट मैले बुझेको ज्ञानको सार यही हो ।  योगानन्दजीको जीवनसार कथाअमृत पढ़ेपछि मेरो अशान्त र अधीर मनले ठुलो राहत पाएको महसुस गर्‍यो जुन जीवनको अति नै महत्वपूर्ण उपलब्धिकोरुपमा मैले लिएकी छु । विजयजीले यस अर्थमा ठुलो गुन लाउनुभएको छ मलाई ।
 
आमाको अचानक मृत्युले जीवनको अर्थप्रति घोत्लिन  कर लाग्यो मलाई। के रहेछ त आखिर जीवन ?  खाली एक हावाको झोक्का ! सोच्न बाध्य भएँ । के सबै बाबुआमाको नियति केवल यति हो, जसले सन्तानलाई माया स्नेह ,दुख पीडा बिच हुर्काउने बढाउने अनि एकाएक छोडेर जानुपर्ने। जन्मेपछि मर्नुपर्ने किन मानिसको नियति बन्यो ? हो मेरा यही अज्ञानतालाई परम् हंसजीको कथा अमृतले साँच्चै नै अमृत पान गरायो। 
 
यदि सच्चा ह्र्दयले पुकार गरेमा जन्म जन्मान्तर आफ्ना प्रियजन भेट हुने सम्भावनाले म पुलकित भएँ । आत्मा अजर र अमर रहने कुरा  सुनी आएकै  हो ।  तर  अन्तरआत्माबाट आत्मसात  गरेपछि मलाई यी दिनहरूमा कसो कसो सजिलो भएको छ, शान्ति मिलेको छ । 
 
आजैका दिन हो आमाले भौतिक देह त्याग्नु भएको । आमाको वार्षिकी आज । सबै सन्तान घरदेशमा सँगै छन् यो पुण्य तिथिमा । बाहेक म । यसै पावन अवसरमा समस्त मृतकको आत्म शान्तिको कामना गर्दछु। दिवङ्गत श्रद्देय आमा र बुबाको आत्मालाई कुनै समयमा, कुनै  न  कुनै रूपमा, कहीँ   न कहीँ भेट हुनेछ भन्ने मलाई दृढ विश्वास छ । उहाँहरू जहाँ र जुनरूपमा हुनुहुन्छ, सन्तोष र शान्ति मिलोस एउटी छोरीको भगवानसँग अंतर ह्र्दयबाट पुकार र प्रार्थना  ।
 
-ह्युस्टन, टेक्सस ।