एनआरएन अमेरिकाको चुनावले अमेरिकन सामाजिक सञ्जाल र अनलाइन मिडियाहरु भरिभराउ भएका छन् । कसैले एनआरएन कै विषयलाई लिएर तीता टिकाटिप्पणी गरेकाछन भने कसैले त्यसको बचावटकोलागि प्रतिउत्तर दिएका छन् । आज सेवा गर्न खडा भएको संस्था पदको मारमा परेकोछ । पदलोलुपताले संस्था भन्दा माथि व्यक्तिको हैकम चलेकोछ । यावत टिकाटिप्पणी र समस्याहरुलाई चुनावको मुखमा वितरण भएको सदस्यता विवादले झनै विश्वसनीयतामा सङ्कट आएकोछ । लाग्छ ! भुझाईको एनआरएन भन्दा भोगाईको भिन्न भएको हुनु पर्छ जसका केही पक्षहरुलाई तल बुँदागत रूपमा तल विश्लेषण गरिएकोछ ।
हाम्रो बुझाइमा एनआरएन:
एनआरएनको त्यति लामो इतिहास नभए पनि यसले गरेका कामहरुलाई भने कम आँकलन पनि गर्नु हुँदैन । भरखरै जस्तो लाग्ने सन २००३ मा स्थापना भएको यो संस्था एक किसिमले गैरनाफामूलक, गैर राजनैतिक, गैर सरकारी संध हो । यसको उद्देश्य नै विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकजुट गर्दै नेपालको कला संस्कृति, पर्यटनको विकास एवम् उनीहरूको योगदानलाई नेपालको हित एवम् विकास र प्रबर्ध्दनमा टेवा पुरयाउनु हो ।
यो एक किसिमको विशुध्द सामाजिक संस्था हो । आफ्नो छोटो इतिहासको कालखण्डमा पनि यो संस्थाले नेपालको विपत्तिमा सक्दो मलमपट्टी लगाएको छ । सीमित समूहको उपस्थिति र पहुँच भएका व्यक्तिको बाहुल्यता रहेको भनी आरोप लाग्ने यो संस्थामा पक्कै पनि प्रवासी पुँजिपति ब्यापारीहरुको बाहुल्यता छ । यस संस्थाको परिलक्ष अनुसार नेपालको विकास र प्रवासीको हितमा ठोस योगदान दिननसक्नु, संस्थाको आफ्नै सहायताकोष नहुनु, नेपालमा संयुक्त लगानीका परियोजना सञ्चालन गर्न नसक्नु, नेपाली हस्तकला र अन्य सामानको विदेशी बजारमा प्रबर्धन गर्न नसक्नु र सङ्गठनलाई समयानुकुल ढाल्ने भन्दा पनि नेपाली पाराको राजनीतिमा मुछिनु खोज्नु जस्ता पक्षले संस्थाको मर्म नबुझेर गलत दिशा तिर यसलाई मोड्न खोजिरहेको भन्ने आरोप लाग्ने गरेको देखिन्छ । जसले संस्थाको परिलक्ष र काम गराइको ढाँचामा तालमेल देखिदैन ।
नेपालको मूल कानुनमा एनआरएन:
गैर आवासीयहरुको उपलब्धि भनेको नेपालको संविधानको धारा ५१ को (ग) (१२) बमोजिम गैर आवासीय नेपालीहरूको ज्ञान,सीप, प्रविधि र पुँजी राष्ट्रिय विकासमा उपयोग गर्ने र भाग २ को धारा १४ ले विदेशीमूलको नागरिकता प्राप्त गरेको सार्क मुलुकबाहेकका व्यक्तिलाई सङ्घीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैर-आवासीय नागरिकताको प्राप्ति हो ।
आज प्रवासी नेपालीहरूलाई जुन किसिमको भरोसा गरेर नेपाल सरकारले संवैधानिक र कानुनी मान्यता दिएको छ त्यो हाम्रो लागि गर्वको विषय हो । यस किसिमको संवैधानिक अधिकारको तबमात्र हामी सगौरव आत्मसन्तुष्ठी गर्छौ, जब हामीले नेपालका लागि दिनु पर्ने योगदान दिई हाम्रा कर्तव्यहरु पुरा गर्छौ । यसको एउटै विकल्प भनेको हामीले सङ्गठित रूपमा नेपाललाई सहयोग गर्नु हो । अबको पाटो भनेको कुनै व्यक्तिले बैयक्तीक सहयोबाट गरेको सहायतामा सीमित भन्दा सिधै राज्यको कोषमै एनआरएनको सहयोगको हिस्सा हुनु सक्नु पर्छ । र यसैको लागि हामीलाई एनआरएनको जरुरत पर्छ । नकि कसैलाई चुनावमा भोट हाल्नका खातिर ।
नेपाल प्रतिको कर्तव्य:
संविधानले दिएको अधिकार सँग हाम्रो कर्तव्य झन् बढन गएको छ । अब हामीले नेपाल जाँदा हरेकले सगर्व अमेरीकाबसी नेपालीले यो योगदान दिएकोछ भन्नु सक्नु पर्छ । भरखरै नेपालका एक जना उधोग मन्त्रीले एनआरएनको नामै किटेर भने कि नेपाली हस्तकला, जडिबुटी तथा अन्य सामानलाई एनआरएनहरुले प्रचार गरी आफ्नो ब्यवसायहरु जस्तै होटेल, रेटुरेन्ट वा अन्यमा उपयोग गरीदिन परयो भनेर । यस्ता अनुरोध पहिले देखि नआएका हैनन । हामी अहिले विश्वका ७४ देशमा फैलिएको बताउँन्छौ । मात्र एक देशले नेपालको कुनै एक क्षेत्रमा हात हालेर सरकारलाई सहयोग गरेको भए हाम्रा काम देखिन्थे होलान् । जस्तै कृषि, शिक्षा…। हाम्रो बिडम्पना एनआरएनहरु कुरा गर्छन् काम कम हुन्छन् । भए पनि साना मसिना खुद्रा काममा (आफू पढेको स्कुल कोठा लाईब्रेरी….) अल्झी रहेका छौ । नेतृत्वकर्तासंग दुरगामी असर पार्ने योजना नै छैनन् ।
समाजसेवाको नामको राजनीति :
हाल अमेरिकाको एनआरएनलाई चुनावले छोएको छ । यसै बिचमा दर्जनौ व्यक्तिहरूले समाजसेवी पदको मनोनयनको लागि मनसाय पत्र दर्तागर्ने आशय देखाएका छन् । पक्कै पनि समाजसेवा गर्न कुनै पदमा रहँदा सहजै समाजले चिन्ने र त्यसैको खुड्किलामा चढेर समाजकालागि नयाँपन दिन सकिने हुन्छ । तर समाजसेवा गर्न कुनै पद नै चाहिने भने पक्कै होइन । यस्ता धेरै उदाहरण पनि छन्, जहाँ समाज सेवा गरेको आधारमा समाज उनीहरूलाई पछ्याउदै समाजसेवी खोज्दै उनी समक्ष पुगेका पनि छन् । यसर्थ यहाँ सेवा गरेको आधारमा समाजले खोज्दै व्यक्ति सम्म पुग्ने प्रक्रिया र व्यक्ति स्वयमले सेवा गर्छु भन्दै समाज सम्म पुग्ने प्रक्रिया परक छन् भनी औल्याउन मात्र खोजिएको हो ।
समाजसेवाका प्रकारलाई खोतल्ने हो भने राजनैतिक आवरणको समाजसेवामा व्यक्तिले मैले यो गरे, त्यो गरे भन्दै थप यस्तो गर्छु भनी लोभ्याउने प्रतिबध्दताहरुका योजना जनता समक्ष पुरयाउने गर्छन् । भने अर्को मदर टेरीसा जस्ता समाजसेवी छन् जसले बोलीले हैन काम र सेवाले मान्छेको मन जित्ने कोसिस गर्छन् जसको परिणाम् स्वरूप यिनलाई खोज्दै समाज उनी समक्ष पुगेर उनको सेवाको लाभ लिने गर्छन् ।
आज गैर आवासीय नेपालीहरूको संस्था पनि के हुनु पर्ने थियो र के हुँदैछ भन्ने आम प्रवासीको चासोको विषय बनेकोछ । यसैलाई लिएर धेरैले गुनासोहरु पनि पोखेका छन् । कसैको नजरले यी वाईयाद गफ लागे पनि यी गुनासाहरु साँच्चिकै आम नागरीकहरुलाई यो संस्थालाई जीवन्त राख्न दिईएका सुझाव जास्तो लाग्छ । यदि हामीले हरेक गुनासा भित्रको आशयलाई सकरात्मक रूपले हेर्ने हो भने यो संस्थाको सुधारको बाटो टाढा छैन । जसले हरेकको कोठा कोठा चाहर्दै एनआरएनको सदस्य बनिदिनु परयो भन्ने संस्कारको अन्त्य भई व्यक्ति नै संस्था खोज्दै आउन्छ । तर यसका लागि सफल नेतृत्वको पक्षमा उभिनु पर्छ ।
हाम्रो संस्था बनाउन कोसिस गरौँ:
अमेरिका जस्तो प्रजातन्त्रको जननीमा रहेका हामी प्रवासी नेपालीले प्रजातन्त्रको मर्म अनुसार आफ्नो निर्णय आफै नगरी तिनै पुराना थोत्रा नेपाली संस्कार र नेपाली राजनीतिको फेरोमा फस्यौ भने नत संस्था बन्छ नत हामी नै । यसर्थ एनआरएनको राष्ट्रिय समन्वय परिषद् आमेरीकालाई दरोरुपमा उभ्याउन खोज्ने हो भने एक पटक गरेर देखाउने नेतृत्व रोजौ । सदस्य जसले बनाए पनि, ज-जसको बने पनि एनआरएनको उद्देश्य अनुसारको भावी योजना बोकेको समूह रोजौ । को कतिपटक नेपाल गयो, कसले के कस्ता निजी व्यवसाय सञ्चालन गरयो भन्दा पनि राष्ट्रिय समन्वय परिषदमा त्यस्ता व्यक्ति पठाऔ जसले संस्थाका गतिविधिको जवापदेहिता साथ पारदर्शी ढङ्गले बहन गर्न सकोस ।
यो संस्थालाई आम सदस्यहरूको साझा ओनरसीपका (अपनत्व) आधारमा अघि बढाउन सकोस । हैन भने हरेक पटकको चुनावमा पनि उही कथाका पाना पल्टनेछन – “लगभग साढे दुईलाख नेपालीहरू रहेको अमेरिकामा जम्मा १६ हजार ८ सय एकासी सदस्य मात्र । त्यो पनि कसैको जोरले । जित्ने दाउमा म्याद थपी थपी चुनावको मुखमा कसैको पैसाले बनेका । कसैका दाइ वा कमरेड वर्गलाई जिताउन बनेका । तर यो नभुलौ अढाईलाखमा आधा नावालक र सदस्य हुन अयोग्य भए पनि एकलाख पच्चिस हजार त योग्य हुनु पर्ने । किन आज कारिव दुई तिहाई भन्दा ठुलो जमात म्याद थपेर सदस्यता वितरण गर्दा पनि संस्थाको साधारण सदस्यता लिन नचाहेर बाहिरीएको छ । हामी सबैलाई सदस्य बनोस भन्ने चाहना मात्र राख्छौ तर मनले आफूलाई भोटहाल्ने उही नेपालका बिश्वबिधालयको स्ववियू जस्तै फर्जी बिधार्थीको नाममा सदस्यता काट्छौ । नेपाली भए पछि किन अनिवार्य रूपमा सदस्यताको परिचयपत्र वितरण गर्देनौ । सोचौ यो संस्थालाई साझा र हाम्रो बनाऔ ।
अन्यमा:
हामीले दोधरमा पर्नु हुँदैन कि प्रबासीहरुले एनआरएनको सदस्य नलिदैमा नेपालको संविधानले दिएको अधिकार बमोजिम प्रवासी नेपाली नागरिकता र अन्य संवैधानिक सुविधाको अधिकारबाट कसैले बन्चित गर्न सक्दैन । तर सङ्गठित रूपमा नेपालको सेवा गर्ने बाचाका लागि साझा संस्थाको रूपमा एनआरएनको विकल्प पनि हामीले खोज्नु हुन्न । साथै हामी जस्तै तममा आलोचनात्मक सोच भएकाहरुको सकरात्मक बिचारले नै यो संस्थाको संस्थागत विकास गराउन सक्छ । यसकालागि हामीले सदस्य बनेर चुनावमा भोटहाल्नमा मात्र सीमित हुनु हुँदैन । नेपाली भए पछि पाउने अधिकारको रूपमा हरेकले एनआरएनको सदस्यको परिचयपत्र स्वतः: नै पाउनु पर्छ भन्ने सोच संस्थाको पक्षबाट सोचिनु पर्छ। दुईलाख पचास हजारले दुई डलर वर्षको दिए पनि पाँचलाख वार्षिक रकम उठ्छ जो अहिलेको १७ हजार सदस्यबाट उठेको भन्दा सतप्रतिशत बढी उठ्छ । सदस्यतालाई संस्थाको फण्डराईजिङका लागि उपयोग गर्ने रणनीति सरासर गलत छ । मेरो बुझाइको एनआरएन सबै पहुँच, सबैको सहमागीता र सबैको अपनत्वको हुनु पर्छ लागेको थियो जो गलत बुझाई रहेछ जस्तो लाग्छ । तर यसका पछाडिका अदृश्य खेल देखिदा सोचाईको भन्दा भोगाईको एनआरएन बहुतै जटिल सामाजिक संस्था रहेछ ।
प्रतिक्रिया