वासिङटन डिसी (अमेरिका) । अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख एक हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । आफ्नी एकमात्र छोरी वियंसाको एघारौँ जन्मदिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेका हुन् ।
फाउन्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्तीका लागि सो रकम हस्तान्तरण गरिएको पत्रकार विकासराज न्यौपानेले बताएका छन् । ‘धुर्मुस सुन्तलीले नेपालमा साँच्चिकै नमुना भन्नलायक काम गरिरहेका छन्, उनीहरुलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,’ न्यौपानेले भने, ‘त्यही भएर छोरीको जन्मदिनको अवसरमा गर्न लागिएको पार्टी रद्द गरेर यो रकम प्रदान गर्न लागेका हौँ ।’
चितवनमा जन्मेर विगत १० वर्षदेखि अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालसमा बस्दै आएका न्यौपानेले अमेरिकामा प्रवासी नेपालीलाई लक्षित गरेर हिमालय खबर अनलाइन सञ्चालन गर्दै आएका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागि एकीकृत बस्ती निर्माण गरिरहेको छ ।
चार करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि नेपाल र बाहिरबाट व्यापक सहयोग जुटिरहेको छ । यसअघि फाउन्डेसनले काभ्रेमा एकीकृत बस्ती निर्माण गरिसकेको छ ।










प्रतिक्रिया