मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र : प्रधानमन्त्री

नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका प्रवर्तक शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउनुभएको छ ।
 
२५६०औँ बुद्ध जयन्तीका अवसरमा यहाँ भइरहेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आज उद्घाटन गर्दै उहाँले बुद्ध भूमि र बुद्धको उद्गम थलोमा आफू रहन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन भएको पनि उहाँले बताउनुभयो ।
 
प्रधानमन्त्री ओलीले भन्नुभयो – “भगवान् गौतमबुद्ध एसियाको ज्योति मात्र नभएर समग्र विश्वको ज्योति हो । बुद्धले दर्शन शान्ति स्थापनाको बलियो आधार हो ।” उहाँले बुद्धको शिक्षाले सामाजिक सद्भाव, सहिष्णुता, क्षमादान र निस्वार्थपनलाई विकास गर्न सहयोग पु¥याउने हुँदा यसले मानव समुदायलाई सत्य र अहिंसाको मार्गमा हिँड्न अभिपे्ररित गर्ने बताउनुभयो । 
 
प्रधानमन्त्री ओलीले बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको उल्लेख गर्नुभयो । लुम्बिनी क्षेत्र धार्मिक तीर्थस्थलका रुपमा विकास हुँदै गएको र यसलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न सरकारले बृहत् लुम्बिनी विकास योजनालाई कार्यान्वयनमा लाने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 
 
प्रधानमन्त्री ओलीले गोष्ठीमा विशिष्ट बौद्ध गुरु तथा बौद्ध विद्वान्ले प्रस्तुत गर्ने कार्यपत्रबाट गौतमबुद्धका विषयमा भएका विभिन्न भ्रम हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा जनप्रतिनिधिले जारी गरेको संविधान कार्यान्वयनमा लगी मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाइने उहाँको भनाइ थियो ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल शाक्यमुनि गौतमबुद्धले बुद्धत्व प्राप्त गरेकै कारण २९ वर्षको युवावस्थामा श्रीपेच, दरबार र सुन्दर परिवार त्याग गर्न सफल भएको उल्लेख गर्दै लुम्बिनी क्षेत्र गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको उद्गम स्थान भएको बताउनुभयो ।
 
सरकारले संविधान जारी गरेपछि पहिलो पटक ऐतिहासिक रुपमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको आयोजना गरेको बताउँदै उहाँले यसले नेपालबाट विश्व शान्तिको सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । ‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठीमा सहभागी राष्ट्रका प्रतिनिधिहरूले बौद्ध दर्शनका विभिन्न सम्प्रदाय तथा अभ्यासका बारेमा चर्चा गर्नुभएको थियो ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति पाठ गरेर गोष्ठीको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा थेरवाद, महायान र बज्रयान तीन सम्प्रदायका धर्म गुरुहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा गायिका आनी छोइङ डोल्माले बुद्ध दर्शनसँग सम्बन्धित गीत गीत प्रस्तुत गर्नुभएको थियो । शुक्रबारसम्म जारी रहने गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुँदैछ ।
 
गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वान्को सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ । लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहको जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ भने सोही समारोहमा मूल गोष्ठीबाट निस्केको निष्कर्षसहितको घोषणापत्र बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा जारी गरिने छ । 
 
मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार गोष्ठी आयोजनाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सम्मेलनको मूल आयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति र विषयगत १३ उपसमितिहरू गठन गरिएको छ । रासस