चितवन । आफैँले चलाएको कार अनियन्त्रित भएर पल्टँदा सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुवास श्रेष्ठको निधन भएको छ ।
बिहीबार दिउँसो भरतपुरबाट वीरगञ्जतिर जाँदै गरेको बा ११ च ३९६८ नम्बरको कार बारा जिल्लाको पथलैयामा कारको अगाडिको टायर पड्केर अनियन्त्रित भएर पल्टेको थियो । दुर्घटनामा श्रेष्ठका आफन्त दुई जना घाइते भएका छन् ।
गत माघमा सप्तगण्डकी बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखको रुपमा नियुक्त भएका श्रेष्ठ विसं २०५९ सालबाट गणित विषय प्राध्यापन गर्न सुरू गरेका थिए ।
भरतपुर–२ क्षेत्रपुरका स्थायी बासिन्दा श्रेष्ठले २०५० सालमा सप्तगण्डकीबाट बीएड गरेका थिए । आज शुक्रबार सप्तगण्डकी बहुमुखी क्याम्पसमा शोक बिदा गरिएको क्याम्पस प्रमुख खेमनारायण सापकोटाले बताए । श्रेष्ठको शुक्रबार देवघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया