चितवन । भरतपुर–१२ वसन्तचोकका सुमित भण्डारीले नारायणी पुलबाट नदीमा हामफाल्न लागेकी एक वृद्धालाई बचाएका छन् । डाँफे रिक्सा चढेर गैंडाकोटतर्फ जाँदै गर्दा सोमबार बिहान १०ः ३० बजे भण्डारीले अन्दाजी ६०÷६५ वर्षीया वृद्धलाई हामफाल्न लागेको अवस्थामा जीवन बचाएका हुन् । वृद्धाको जीवन जोगाएपछि जम्मा भएका सर्वसाधारणले उनलाई धन्यवाद दिएका थिए ।
कालिका अफसेट प्रेसमा हेल्पर काम गर्दै आएका उनले तत्काल वडा प्रहरी कार्यालय नारायणगढलाई फोन गरेर वृद्धालाई आत्महत्या गर्नबाट बचाएको खबर गरेपछि प्रहरीले रिक्सामा राखेर वृद्धाको उद्धार गरेको थियो । वडा प्रहरी कार्यालयले वृद्धालाई गैंडाकोट प्रहरीको जिम्मा लगाएको जनाएको छ । गैंडाकोट प्रहरीले वृद्धालाई आफन्तको जिम्मा लगाएको थियो ।
वृद्धाको जीवन बचाएका भण्डारीले आफ्नो जीवनकै ठूलो खुसी लागेको बताए । पुलमा दुवैतर्फ सवारीसाधन चलिरहेका बेला उनले जोखिम मोलेर वृद्धालाई जोगाएका थिए ।
उनले केही वर्षअघि वनभोजबाट फर्किंदै गर्दा हिलबर्ड स्कुलको बस दुर्घटना हुँदा पनि पाँचजना साथीलाई बचाएका थिए । तत्कालीन समयमा उनी हिलबर्डमै चार कक्षामा पढ्थे । आफूसमेत दुर्घटनामा परेका उनी रड ढाडमा कोपिँदासमेत उद्धार गरेको बताउँछन् । त्यसबेला उनले पाँचजना मिल्ने साथी गुमाएका थिए ।
प्रतिक्रिया