मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन कांग्रेसमा नयाँ पुस्ताका चारसहित ६ जनाको भिडन्त

चितवन कांग्रेसमा नयाँ पुस्ताका चारसहित ६ जनाको भिडन्त


congressचितवन, २५ माघ । नेपाली काँग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज सोमवार अधिवेशन हुँदैछ ।

देशभरका जिल्ला अधिवेशन जसरी नै चितवनमा पनि यो अधिवेशन हुन लागेको हो ।

नयाँ नेतृत्वका लागि हुने अधिवेशनले जिल्ला सभापतिसहित नयाँ कार्य समिति चयन गर्ने छ । नयाँ अधिवेशनका लागि मतदानको कार्यक्रम पनि सोमबार नै तय भएको छ ।

‘उम्मेदवारी दर्ता र मतदान एकै दिन गरिने कार्यक्रम तय भएको छ’, निर्वाचन समितिका सहसंयोजक धुव्र पोख्रेलले भने, ‘अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।’

नयाँ नेतृत्वका लागि सभापति पदमा चार जनाले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् । चारैजना उम्मेद्वारहरुले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

नेपाली नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका जितनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि दिनेश कोइराला, पूर्व जिल्लासचिव देवेन्द्र गुरुङ, महासमिति सदस्य प्रकाश अधिकारीले पत्रकार सम्मेलन आयोजना गरी आ–आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

यसअघि जिल्ला सभापति टेकप्रसाद गुरुङ, नेता राजेश्वर खनाललगायतले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरे पनि उनीहरु चुनावी प्रतिस्पधाबाट बाहिरिएको कांग्रेसजनमा चर्चा छ ।

सभापतिका उम्मेद्वारहरु चारैजना नयाँ पुस्ताका हुन् । सबैले युवा सशक्त नेतृत्वले पार्टीको जिम्मेवारी लिनु पर्ने भन्दै उम्मेद्वारी घोषणा गरेको जनाएका छन् ।

सभापति पदका प्रत्याशी श्रेष्ठ नेपाल विद्यार्थी संघ चितवनको अध्यक्ष भएका व्यक्ति हुन् । अधिकारी नेपाल प्रध्यापक संघका केन्द्रीय महासचिव हुन् । कोइराला नेपाल जेसिसका पूर्व केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् भने गुरुङ पार्टी सचिवसँगै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध छन् ।

केन्द्रमा देखिएको संस्थापन र देउवा पक्षको धार चितवनमा भने अलि फरक देखिएको छ । उम्मेदवारमध्ये तीन जनाले आफूलाई संस्थापन पक्ष भन्न रुचाउँछन् भने अधिकारी देउवा निकट नेताका रुपमा चिनिन्छन् ।

‘मेरो जित भए म पार्टीलाई सुदृढ बनाएर लैजाने छु’, आफ्नो उम्मेद्वारी घोषणा कार्यक्रममा श्रेष्ठले भने, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको व्यावहारिक प्रयोग बिना नेपाली समाजको रुपान्तरण र आर्थिक विकास हुन सक्दैन भन्ने मान्यताअनुसार मैले काम गर्ने छु ।’

कोइरालाले आफ्नो उम्मेदवारीका क्रममा कांग्रेसको नेतृत्वमा आफू पुगे पार्टीलाई वैचारिक प्रशिक्षणको माध्यमबाट आगाडि लैजाने स्पष्ट पारे । ‘आन्तरिक लोकतन्त्रलाई कार्यकर्ताको तह सम्म सुदृण गर्दै लैजाने मेरो कार्ययोजना रहनेछ’ उनले भने ।

अर्का प्रत्याशी अधिकारीले गुट उपगुटभन्दा माथि राखेर क्षमताका आधारमा कार्यकर्ताहरुको मूल्याङ्कन हुनुपर्ने बताए । गुरुङले पनि पत्रकार सम्मेलनमा आफूलाई सहयोग गर्न सबै प्रतिनिधिहरुसँग आग्रह गरेका थिए ।

यस्तै, कांग्रेस चितवनको चुनावी दौडानका क्रममा सचिव पदका लागि पनि चार जनाको उम्मेदवारी पर्ने देखिएको छ । काग्रेस चितवनका वहालवाला सदस्य सालिग्राम शर्मा, नेविसंघका केन्द्रीय सदस्य उत्तम जोशी, पूर्व प्रचार विभाग प्रमुख विष्णु ढकाल र नेविसंघ चितवनका पूर्वअध्यक्ष कैलाश कोइरालाले आ–आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापतिका, सचिव, कोषाध्यक्ष र २५ जनाको कार्यसमितिका लागि ९०३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्दै छन् । २० हजार ६ सय जना क्रियाशील रहेको चितवनमा ५५ जनाको महासमिति सदस्य चयन भएका छन् ।