नाकावन्दीले जनताको गाँस, बास, कपासदेखि शिक्षा, स्वास्थ्यमा समेत व्यापक असर परेको छ। भारतीय नाकावन्दी नेपालीका लागि पहिलो भने होइन। यसभन्दा पहिला दुई पटक नेपालले यस्ता नाकावन्दी झेलिसकेको छ। २०२७ र २०४५ मा भारतले उतिबेलै नेपालमाथि नाकावन्दी गरेको थियो। फरक यति मात्र हो कि उतिबेलाको नाकावन्दी घोषित थियो।
नाकावन्दीविरुद्धका स्वर दिनानुदिन बढ्दैछ। यूरोपियन युनियन, संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रीय संस्थाहरुले यस सम्वन्धमा विरोध जनाइसकेका छन्। उता, भारतीय जनता, नेपाल सुभेच्छुक स्वदेशी एवं विदेशी मित्र राष्ट्रहरुले पनि भारतसामु असन्तुष्टि प्रकट गरिरहेका छन्।
भारतीय नाकावन्दीप्रतिको विरोधका स्वर सामाजिक संजालहरु एवं नेपाली जनस्तरवाट छताछुल्ल पोखिएको छ। सामाजिक संजालहरु भारतविरोधी सामग्रीले भरिएका छन्।
भारतले नेपालमाथि लादेको नाकावन्दी निन्दनीय छ। यो पुरापुर अमानवीय कार्य हो। यसको भर्सना व्यापकस्तरमा हुनु पर्छ र जरुरी पनि छ। तथापि यो एक महिनाको नाकावन्दीले हाम्रो भारतीय परनिर्भरता अझ प्रष्टिएको छ।
२०४५ मा भारतले नेपालमाथि १३ महिनासम्म घोषित नाकावन्दी गरेको थियो। भारतको विरोध राष्टिय एवं अन्तराष्टियस्तरमा नभएको पक्कै होइन।
त्यसपछि पच्चीसौँ वर्ष बिनाअवरोध भारत र नेपालबीच व्यापार– व्यवसाय भए। तर यी सबै भइरहँदा विडम्वना नै मान्न पर्छ कि हामीले स्वनिर्भर हुनाको साटो झनझन परनिर्भर भएछाँै।
अन्य देशलाई हेर्ने हो भने हालसम्म पनि उत्तर कोरिया, बर्मा, इरान, क्युवा अनि अन्य कैयौ अफ्रिकी देशमाथि आर्थिक–सामाजिक नाकावन्दी संयुक्त राष्ट्रसंघ र अन्य ठूला राष्टले लगाएका छन्। जेनतेन तिनले धानिरहेका छन्।
हामी भने एक महिना बित्दा नबित्दै हाहाकार गाउन थालिसकेका छाँै। भन्नेहरुले भन्छन् नि नेपालीहरु हाहाकार गाउन निकै अगाडि छन्।
सम्भवतः हाम्रो हाहाकारले भारत र उसका मतियारलाई फाइदा पुर्याउँछ भन्नेमा सायद थोरैलाई मात्र हेक्का होला। कस्तो विडम्वना हामी एकातिर वीर गोर्खाली, नालापानीको इतिहास सुनाउँछौं भने अर्कातिर दुई दिनको अभावमा दस दिनको हाहाकार गीत गाउँछौँ।
म त भन्छु भारतीय परनिर्भरताले हामीलाई कति असर गरेको छ भनी मनन गर्न नेपालको लागि यो उत्तम समय हो। विगतमा नेपालसित भएको जैविकता, पानी, सुन्दरता एवं मानवीय शक्तिको उचित प्रशोधन एवं व्यवस्थापन गर्न स्वविकीय निर्णय नगरी भारतीय नोकरशाहीको मुख मात्र ताक्नाले हामी कति पछाडि परेछौँ भन्ने आँकलन गर्ने बेला हो यो। भारतीय दलाल नोकरशाहीले हामीलाई कतिसम्म हेपिसकेछन् भनी हेक्का राख्ने समय हो यो।
२०४५ मा नाकावन्दी हँुदा करिब १३ महिना धानिएको हाम्रो अर्थतन्त्र आजको दिनमा आइपुग्दा एक महिनामै हाहाकार मच्चिएको हुँदा, हामी कहाँनेर चुक्यौ भनी लेखाजोखा गर्ने बेला हो यो। विदेशीहरुको इशारामा विगतमा राज्य संचालन हुँदा हाम्रो राष्ट कति कमजोर भएछ भनी सोच्ने बेला हो यो।
हामी र हाम्रो राष्ट कति कमजोर भैसक्यो भन्ने प्रसंगमा एउटा सानो उदाहरण प्रस्तुत गरुँ। अमेरिकामा नेपालीहरु आफू नेपाली भएको चिनारी दिँदा प्रायः विदेशीहरु प्रश्न गर्छन्ः “कहाँ छ नेपाल रु”
यदाकदा सगरमाथा र गौतम बुद्धको देश भन्दा चिन्ने अमेरिकीहरु पनि नभएका होइनन्। तर अधिकांश अमेरिकीहरुलाई भारत र चीनको छिमेकी राष्ट हाम्रो देश नेपाल भन्दा सबैले चिन्छन्। यो कस्तो दुर्भाग्य आफ्नो देश छिमेकका दुई देशहरुको नामबाट चिनिन पर्ने।
कठै हामी कति कमजोररु यसैबाट प्रष्टिन्छ।
यति भैसक्दा पनि हामी भारत भारत भन्दै दौडिरहेका छौँ। अब के गर्ने भन्दा पनि हामी क्रमशः भारत वा चीन कसले कति देला भन्नेतर्फ नै उन्मुख छौँ। अझ हामी हाम्रा आवश्यकताका लागि चीन र भारतलाई भिडाउन खोज्दै छाँै। १०–१५ लाख लिटर तेलको खवर ५० लाख भन्दा बढी झैँ बनाउँदै छौँ। सिधासिधा भारतले नदिएर के भो त चीनले दिन्छ भनी फेरि अर्को एउटा दादाको पछि लाग्दै छाँै। सहि वा गलत त भविष्यले बताउला तथापि हामी कसैको भर नपरी अगाडि बढ्दा नै कल्याण होला।






प्रतिक्रिया