काठमाडौँ, १३ कात्तिक । उच्चस्तरीय राजनीतिक समितिले सत्ता गठबन्धनलाई कायम राख्दै एकीकृत नेकपा (माओवादी)का तर्फबाट उपराष्ट्रपतिका लागि प्रस्ताव गरिएका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले मुलुकको वर्तमान अवस्था र दलहरुबीचको सहमति र सहकार्य एवम् गठवन्धनको संस्कृतिलाई कायम राख्दै अगाडि बढ्ने निष्कर्ष निकालेको हो ।
एमाओवादीले पार्टी स्थायी समिति सदस्य एवम् पूर्वलडाकु कमान्डर नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने बताएको छ । गठबन्धनमा रहेका केही दलले एमाओवादी नेता पुनबाहेक मधेसी, थारू समुदायबाट कसैलाई उम्मेदवार बनाए राम्रो हुने धारणा राख्दै आएका छन् ।
तराई मधेसमा आन्दोलन एवम् असन्तुष्टि जारी रहेको बेला सोही समुदायबाटै उपराष्ट्रपति बनाउन सकिए राम्रो हुने भन्दै गठबन्धनमा रहेका दलहरुले पुनभन्दा अर्को व्यक्तिलाई अगाडि सार्न एमाओवादीसँग आग्रह गरेका थिए ।
एमाओवादीले आज बिहान स्थायी समितिको बैठक राखेर पुनको विकल्प खोज्न नसकिने बताएको छ । उच्चस्तरीय समितिको बैठकपछि नेकपा (माले) का महासचिव सिपी मैनालीले सत्तागठबन्धन कायम राख्दै अगाडि बढ्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँले बैठकमा विभिन्न कोणबाट उपराष्ट्रपतिको विषयमा छलफल भएको उल्लेख गर्दै एमाओवादी उम्मेदवारलाई नै सहयोग गर्ने बताउनुभयो । बैठकमा एमाओवादीले आफूहरुले अर्को उम्मेदवार तय नगर्ने र पूर्वघोषित उम्मेदवारलाई नै सहयोग गर्न आग्रह गरेको थियो ।
बैठकमा एमाओवादीले पार्टी स्थायी समितिको बैठकले गरेको निर्णय जानकारी गराउँदै तलमाथि भए आफूहरुले फरक ढङ्गले सोच्नुपर्ने बताएको थियो । नेकपा (माले) का महासचिव मैनालीले एमाओवादीले आफ्नो उम्मेदवारलाई गठबन्धनका तर्फबाट सहयोग हुने विश्वास बैठकमा राखेको बताउनुभयो । रासस
प्रतिक्रिया