मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपरासी भाइरल ज्वरोको प्रकोप बढ्यो

नवलपरासी भाइरल ज्वरोको प्रकोप बढ्यो


नवलपरासी । नवलपरासीमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालका डा. नरुल होदाका अनुसार नवलपरासीमा अस्पतालमा आएका बिरामीमध्ये ७० प्रतिशत भाइरल ज्वरोका छन् । 
 
जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामीहरु बढिरहेका अस्पतालले जनाएको छ । छिनछिनमै भइरहेको मौसम बदली र अत्यधिक गर्मीका कारण यस्तो बिरामीहरु बढी देखिएको डा. होदाले बताए । 
 
डा. होदाका अनुसार बिरामीमा ज्वरोसँगै रुघाखोकी, पिसाबमा खराबी, जिउ दुःख्ने, घाँटी समाउने, स्वर परिवर्तन हुने, उल्टी हुने, पखाला लाग्नेलगायतका समस्या देखिएको छ । केहीलाई कडा ज्वरोसँगै मलेरिया देखिए पनि यस प्रकारको ज्वरोलाई ‘हाइग्रेड फिभर’ भनिने डा. होदाले जानकारी दिए । 
 
कावासोती नगरपालिका–१६ डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पताल एवम् प्राथमिक स्वास्थ्य चौकीका डा. दिवस सापकोटाले सामुदायिक अस्पताल र स्वास्थ्यचौकी दुबैमा उपचारका लागि आएका बिरामीमध्ये ७० प्रतिशत बिरामीमा कडा ज्वरो आएको बताए । 
 
डा. सापकोटाका अनुसार १०३ देखि १०५ डिग्रीसम्मको कडा ज्वरोका साथै बिरामीहरुलाई खान मन नलाग्ने, टाउको दुख्ने, जिउ दुःख्ने घाँटी समाउनेलगायतका बिरामी आउने गरेका छन् । उनले दिनभरि घाममा काम गर्ने अथवा घर बाहिरका गर्मी वातावरणमा बसेर एक्कासि पंखाको हावा खाँदा वा एसीको चिसोमा बस्दा सर्दी–गर्मी नमिलेर बिरामी बढेको बताए ।
 
जिल्ला अस्पताल परासीका डा. नरुल होदाले मौसमका कारण देखिएका यस्तो ज्वरोबाट बच्न हलुका ज्वरो आउनासाथ आराम गर्नुपर्ने अन्य बेलाको भन्दा धेरै झोलिलो र भिटामिनयुक्त पोसिलो खानेकुरा खानुपर्ने सुझाव दिए ।