मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नौ दिनदेखि बागलुङ बन्द, जनजीवन कष्टकर

नौ दिनदेखि बागलुङ बन्द, जनजीवन कष्टकर


बागलुङ । बागलुङ जिल्ला विगत नौ दिनदेखि बन्द छ । विभिन्न आन्दोलनरत पक्ष र समूहले गरेको बन्दले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । जनजातिको बन्दपछि बागलुङ टुक्र्याइएको विरोधमा यहाँका जनता आन्दोलित  छन् । 
 
मगरात स्वायत्त प्रदेशको माग गर्दै मगर समुदायले गरेको बन्दले जिल्ला दोहोरो बन्दका मारमा परेको छ । पहिचान पक्षधरले सोमबार मगरात क्षेत्र बन्दको आह्वान गरेका छन् । नौ दिनदेखिको जिल्ला बन्दले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार, व्यवसाय, कलकारखाना, यातायात, शिक्षण संस्था सबै बन्द छन् । 
 
अत्यावश्यक कामले सदरमुकाम आउनुपर्ने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । दिनभर हिँडेर आइतबार साँझ सदरमुकाम आइपुगेको ताराखोलका पूर्णभद्र न्यूरले बताउनुभयो । पोखरा, काठमाडौँलगायतका क्षेत्रमा पुगेका बागलुङवासी यातायात नचलेपछि जिल्ला भित्रन पाएका छैनन् । 
 
सरकारी कार्यालय सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही नआउँदा सुनसान बनेका छन् । बन्दले शिक्षण संस्थामा नराम्रो असर पारेको छ । हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । विद्यालय खुलाउन दबाब दिइए पनि आन्दोलनरत पक्षले त्यसलाई स्वीकारेका छैनन् । चाडबाडका मुखमा भएको बन्दले विदेशबाट आउने तयारी गरेका आफन्तजन पनि अलमलमा परेका छन् । 
 
जिल्लामा सामानको ढुवानी नै रोकिए पछि दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । गरिखाने वर्ग सबभन्दा बढी बन्दको मारमा छन् ।  उता, सातादेखि अखण्ड बागलुङको मागसहित जिल्ला बन्द छ । सात प्रदेशको सीमाङ्कनमा बागलुङलाई दुई प्रदेशमा टुक्र्याएपछि जिल्लाभर आन्दोलन उठेको छ । 
 
प्रधानमन्त्रीलगायत प्रमुख दलका नेताले जिल्ला नटुक्र्याउने आश्वासन दिए पनि लिखित र प्रक्रियासम्मत रुपमा नसच्चिएसम्म आन्दोलन नरोकिने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए । रासस