मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुरक्षाकर्मीमाथि नियोजित रुपमा आक्रमण

सुरक्षाकर्मीमाथि नियोजित रुपमा आक्रमण


कैलाली । कैलालीको टीकापुरमा थरुहट कार्यकर्ताको आक्रमणमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित थुप्रै प्रहरीको ज्यान गएको छ । ४६ जनाभन्दा बढी प्रहरी घाइते भएका छन् । मारिनेमा सहायक हबल्दार नेत्रबहादुर साउदका घरमा सुताएर राखिएका दुई वर्षका अबोध छोरा टेकेन्द्र साउद पनि छन् । उनलाई आन्दोलनकारीले घरमै पसेर हतियार प्रहार गरी ज्यान लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
 
घटनापछि ग्रामीण क्षेत्रमा रहेका केही प्रहरी चौकीहरूलाई टीकापुरमै गाभ्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको स्रोतले जनाएको छ। घटनापछि कैलालीलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालनको निर्णय सुरक्षा संयन्त्रले गरेको छ। गृह मन्त्रालयले झडपमा तीनजना आन्दोलनकारीको मृत्यु भएको उल्लेख गरे पनि सुदूरपश्चिम डीआईजी रामकुमार खनालले भने यसबारे कुनै जानकारी प्राप्त नभएको बताए। टीकापुर नगरपालिका-६, शंकरपुरमा थरुहटरथारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो।
 
भाला, लाठी, बन्चरो, हँसियाजस्ता घरेलु हतियार बोकेर गएका थरुहटका कार्यकर्ताले आक्रमण गरेपछि सेती अञ्चल प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहितका प्रहरीको मृत्यु भएको हो। ‘एसएसपी न्यौपाने गाडीबाट झरेर भीडलाई सम्झाउँदै थिए’, सशस्त्र प्रहरी उच्चस्रोतले भन्यो, ‘त्यसैबेला आन्दोलनकारीले न्यौपानेको आँखामा भाला रोपिदिए, उनी त्यहीं ढले, त्यसपछि भीडले प्रहरीमाथि प्रहार गर्‍यो।’ न्यौपानेसँगै रहेका प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहोराको पनि मृत्यु भयो। घटनामा नेपाल प्रहरीका हबल्दार लक्ष्मण खड्का र जवान लोकेन्द्र चन्द, वरिष्ठ सशस्त्र प्रहरी हबल्दार ललित साउद र सशस्त्र प्रहरी हबल्दार रामबिहारी चौधरीको पनि मृत्यु भएको छ।
 
सशस्त्र प्रहरीका अनुसार प्रहरीबाट लुक्दै नजिकैको अर्को घरमा एकतलामाथि चढेका आन्दोलनकारीले लुकेर बसेका अर्का एक आठ वर्षीय बालकलाई समेत आक्रमण गरी घाइते बनाएका छन्। भिडन्तमा सात सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्। नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरीका २२ जना घाइते छन्। त्यस्तै चारजना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ भने गम्भीरलाई उपचारका लागि काठमाडौं लगिएको छ। सुदूरपश्चिम क्षेत्रका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० रामकुमार खनालले प्रहरी संयम भएकाले एसएसपीसहितका प्रहरीले ज्यान गुमाउनुपरेको बताए।
 
डीएसपी धनबहादुर कठायतको कमान्डमा रहेको टीकापुर इलाका प्रहरी कार्यालयको सुरक्षा अवस्था बिग्रिन थालेपछि एक साताअघि टीकापुर क्षेत्रको सुरक्षाको जिम्मेवारीसहित एसएसपी न्यौपानेलाई खटाइएको थियो। त्यहाँ तीन दिनदेखि कफ्र्यु र निषेधाज्ञा जारी गरिएको थियो।
 
डीआईजी खनालका अनुसार थारुवानरथरुहट संयुक्त संघर्ष समितिको आयोजनामा टीकापुरमा रहेको इलाका प्रशासन कार्यालयमा थरुहट स्वायत्त प्रदेशको बोर्ड टाँस्ने कार्यक्रम थियो । उनीहरूले आइतबार कैलालीका सात गाविस पवेरा, पहलमानपुर मसुरिया, रतनपुरलगायतमा थारुवान स्वायत्त प्रदेशको बोर्ड झुन्ड्याएका थिए। अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ ।