" मेरो कविता "
– भरत कुमार भट्टराई
मेरो कविता त साँच्चै
पत्याउनै नसकिने गरी
वर्तमान बेलग्रेडको अनुहारसरि भएर
कहिले नेटो-सोलाना
कहिले युगोस्लाभिया-मिलोसेभिचका
अहम्का युद्धहरूमा परेझैँ
कहिले हाकिमका हप्कीमा
कहिले घरपेटीका दप्कीमा
कहिले राजनीतिका खाडलमा
कहिले प्रशासनका दलदलमा
कहिले अभिभावकहरूका आक्रोशमा
कहिले आफन्तका जँड्याहा गालीमा
नेटोरूपी बमहरूकै झैँ
डमडम्ती पड्कने
अवस्थाहरूमा साटिएर
बीभत्स-विकराल
क्षतविक्षत बनेर
क्षणक्षण विश्वभरि
च्यातिँदै-फाट्दै गरेको
नरसंहारजस्तो
पलपल
क्लिन्टन-मोनिकाको
निर्वस्त्र नियन्त्रणहीन नियमहीन
टाटाटाटामा उत्रिएर
आधुनिक विचित्र समाजमा
उक्किँदो मानवताको
उपहासजनक अनुहारमा
लुछिँदो छ
कुच्चिँदो छ
ङिच्चङिच्च ङिच्चिँदो छ
क्षतविक्षत लुम्सालुम्सामा
जर्जर बन्दो छ ।
प्रतिक्रिया