न्युयोर्क, अमेरिका- नेपथ्य ब्याण्डलाई जनमानसमा पुर्याउन मुख्य भुमिका खेल्ने पहिलो भोकलिष्ट रविन श्रेष्ठले न्युयोर्कमा आफनो प्रस्तुति दिने भएका छन । नोभेम्बर २० तारिख शुक्रबार हुने सांगितिक कार्यक्रममा गायक रविन श्रेष्ठका साथै चर्चित पप गायक हरिश माथेमा र राजु लामालेपनि दर्शकलाई नचाउने भएका छन । न्युयोर्कको क्वीन्समा रहेको द प्यालेसमा हुने सांगीतिक कार्यक्रमको सबै तयारी पुरा भइसकेको आयोजक तथा अभियन्ता सुर्य सिंम्खडाले जानकारी दिए । सिंम्खडाका अनुसार गायक रविन श्रेष्ठ, हरिश माथेमा र राजु लामाको अमेरिकाको सांगीतिक यात्रा न्युयोर्कबाट शुरु हुन लागेको हो । शुक्रबार न्युयोर्कको कार्यक्रम सकिएपछि भर्जिनिया तथा टेक्ससमा पनि हुनेछ । नेपथ्यको पहिलो चर्चित गीत छेक्यो छेक्यो देउराली डाँडा बोलको गीतले नै सो ब्याण्डलाई नेपालीमाझ लोकप्रीय बनाएको हुंदा सोही गीतका गायकले प्रत्यक्ष गाउने सो हेर्न धेरै मानिसहरु आतुर रहेकोले टिकट विक्रीपनि लगभग सकिएको सिंम्खडाले बताए ।
त्यसैगरी गायकद्वय हरिश माथेमा र राजुलामाको पनि आफ्नै क्रेज भएकोले दर्शकले पूर्ण मनोरञ्जन लिने बताइएको छ । गायक माथेमाका आँखाको नानी हौ तिमि तथा लामाका अल्लारे माया लगायतका गीतहरु निकै लोकप्रीय मानिन्छन । कार्यक्रममा शशिकला मोक्तानले पनि आफ्नो प्रस्तुती दिने छिन भने तेन्जिनले डिजेको नेतृत्व गर्ने छन ।
कन्सर्टबाट उठेको केही रकम नेपालको रसुवा, नुवाकोट, तथा धादिङका बाढीपीडितको सहयोगार्थ खर्च गरिने आयोजक तथा गायक राजेश हमालले जानकारी दिए । कार्यक्रमको उद्धेश्य पूर्ण मनोरञ्जनका साथै बाढिपीडितको सहयोगार्थ पनि भएकोले सकेसम्म सहभागि भएर कार्यक्रमको शोभा बढाइदिन आयोजकले नेपालीहरुलाई आव्हान गरेको छ । सांगितिक कार्यक्रममा साँझ ६ बजे ढोका खुल्ने छ भने सात बजेबाट कार्यक्रम शुरु हुनेछ । कार्यक्रम हुने स्थान द प्यालेस क्वीन्सको रुजवेल्ट एभेन्युको ६३ स्ट्रीटमा रहेको छ ।













प्रतिक्रिया