काठमाडौँ । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ । काठमाडौंको कार्की बैंक्वेटमा मंसिर २ र ३ गते आयोजित भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको तयारीसँगै आवश्यक परे राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्ने सङ्कल्प गरेको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजित भेलामा देशभर तथा प्रवासबाट तीन हजार ४१४ प्रतिनिधि सहभागी थिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विभिन्न विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।
जनताको बीचमा जान ओलीको निर्देशन
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले व्यहोरेको राजनीतिक धक्का निर्वाचनको परिणामबाट मात्र नभई सरकारबाट हटाइएदेखि सुरु भएको बताएका छन्। उनले लोकतन्त्रको पुनर्बहालीका लागि जनपुनर्जागरण अभियानको नेतृत्व एमालेले गर्ने बताए ।
ओलीले २०८२ भदौ २३ र २४ गतेका घटना तथा त्यसपछिको राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै नयाँ उत्साह, प्रतिबद्धता र सङ्कल्पका साथ जनताको बीचमा जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
भेलामा वरिष्ठ नेता भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्नुपर्नेमा जोड दिएकी थिइन्। महासचिव पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे प्रशिक्षण दिएका थिए।
भेलामा वरिष्ठ नेता भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्नुपर्नेमा जोड दिएकी थिइन् । महासचिव पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे प्रशिक्षण दिएका थिए ।
सरकारविरुद्ध एमालेको कडा आलोचना
भेलाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका आठ महिनाको कार्यकालप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। सरकारले राजनीतिक प्रतिशोध साँधेको, मौलिक अधिकार हनन गरेको, संवैधानिक संस्थामाथि हस्तक्षेप गरेको तथा स्वेच्छाचारी व्यवहार देखाएको आरोप एमालेले लगाएको छ।
राजनीतिक दलका नेता, व्यवसायी, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नागरिक अभियन्तामाथि सरकारले अनुचित व्यवहार गरेको आरोप लगाउँदै भेलाले त्यस्ता गतिविधि बन्द गर्न माग गरेको छ।
त्यस्तै, ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियनमाथि लगाइएको बन्देज हटाउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि एमालेले माग गरेको छ।
भेलाले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। सरकारले ती घटनासम्बन्धी छानबिन प्रतिवेदन लुकाएको र राजनीतिक नेतृत्वमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको आरोपसमेत प्रस्तावमा उल्लेख छ।
महँगी नियन्त्रण र सुकुम्बासी व्यवस्थापनको माग
एमालेले बढ्दो महँगी, करको भार, बेरोजगारी, लगानी सङ्कुचन तथा व्यवसायीको खस्कँदो मनोबलप्रति चिन्ता व्यक्त गरेको छ।
सुकुम्बासी बस्ती विस्थापन गरिएको महिनौँ बितिसक्दा पनि उचित व्यवस्थापन हुन नसकेको भन्दै भेलाले सरकारको ध्यानाकर्षण गराएको छ।
महँगी नियन्त्रण गर्न, घरायसी प्रयोगको विद्युत्मा लगाइएको कर फिर्ता लिन, व्यवसायीलाई त्रसित बनाउने गतिविधि रोक्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न एमालेले माग गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्न आग्रह
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने एमालेको निष्कर्ष छ।
सीमा विवाद, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन, बढ्दो व्यापार घाटा, हवाई प्रवेश बिन्दु तथा लामो समयदेखि रोकिएका परियोजनाको कार्यान्वयनलगायत विषयमा स्पष्ट रूपमा नेपालको धारणा राख्न भेलाले आग्रह गरेको छ।
नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने प्रस्तावमा उल्लेख गरिएकी हाे।
बाढीपीडितको पुनर्स्थापना र सडक सुरक्षामा जोड
भेलाले भोटेकोशी, बुढीगण्डकी तथा कालीगण्डकीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माणको माग गरेको छ।
बाढी प्रभावित बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका समस्यालाई प्राथमिकतामा राख्न र क्षतिग्रस्त सडक तथा पुलको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
मकवानपुरको भीमफेदीसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भेलाले सडक स्तरोन्नति, सवारीसाधनको गुणस्तर परीक्षण, चालकको अनुशासन र प्रभावकारी अनुगमनमा जोड दिएको छ।
संविधान र लोकतन्त्र रक्षाका लागि सहकार्यको आह्वान
एमालेले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायबीच सार्थक संवाद, सहकार्य र जनदबाब आवश्यक रहेको जनाएको छ।
भेलाले विश्वका विभिन्न मुलुकमा भइरहेका युद्ध, बाह्य हस्तक्षेप तथा आक्रमणको निन्दा गर्दै विश्व शान्ति, जलवायु न्याय र मानवअधिकारका पक्षमा ऐक्यबद्धता जनाएको छ। प्रवासी नेपालीको मताधिकार, नागरिकता, लगानी, सामाजिक सुरक्षा तथा रोजगारीसम्बन्धी सरोकार सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
पार्टीभित्रको भ्रष्टाचार र विकृतिविरुद्ध कठोर बन्ने सङ्कल्प
भेलाले एमालेलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउँदै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प गरेको छ।
नेता तथा कार्यकर्तामा देखिएका आर्थिक तथा आचरणगत विचलन, भ्रष्टाचार, विलासी जीवनशैली र जनताबाट टाढिने प्रवृत्तिविरुद्ध कठोर बन्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यस्तै, युवा पुस्तासँग संवाद गर्ने, जनताका सुझाव, गुनासा र आलोचना सुन्ने तथा स्वच्छ, पारदर्शी र जनसेवी पार्टी निर्माण गर्ने सङ्कल्प भेलाले गरेको छ।
आगामी निर्वाचनमार्फत पार्टीको राजनीतिक शक्ति पुनर्स्थापित गर्ने लक्ष्यसहित एमालेले आवश्यक परे लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनमा उत्रिने निर्णय गरेको छ।













प्रतिक्रिया