ह्युस्टन, टेक्सास । उत्तर अमेरिकामा सक्रिय नेपाली इञ्जिनियरहरूको साझा संस्था अमेरिकन सोसाइटी अफ नेप्लिज इञ्जिनियर्स (American Society of Nepalese Engineers (ASNEngr) ले १९औँ वार्षिक सम्मेलन आगामी नोभेम्बर २१, २०२६ मा टेक्ससको ह्युस्टन शहरमा आयोजना गर्ने भएको छ ।
ह्युस्टनस्थित जर्ज बुस इन्टरकन्टिनेन्टल एयरपोर्ट नजिकै रहेको डबलट्री बाइ हिल्टनमा आयोजना हुने सम्मेलनमा अमेरिका, क्यानडा, नेपाल लगायतका देशहरुबाट करिब ३०० इञ्जिनियर, वैज्ञानिक तथा प्राविधिक पेशाकर्मीहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
“पूर्वाधार, ऊर्जा, साझा सामाजिक-आर्थिक समृद्धि तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रवर्द्धन” (Advancing Infrastructure, Energy, Shared Socioeconomic Growth, and AI) भन्ने मूल नारा सहित आयोजना हुन लागिरहेको नेपाली-अमेरिकन इन्जीनियरहरुको संस्थाको ह्युस्टन सम्मेलनमा वैज्ञानिक/प्राविधिक सत्रहरुमा विभिन्न अनुसन्धानमा आधारित विविध कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।
सम्मेलनमा पूर्वाधार विकास, ऊर्जा, उद्यमशीलता, प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी विविध प्राविधिक सत्र, छलफल तथा प्रस्तुति कार्यक्रमहरू सञ्चालन गरिने सम्मेलन आयोजक समितिका को-चेयर समीर रावलले हिमालय खबरलाई जानकारी गराएका छन् ।
को-चेयर रावलका अनुसार सम्मेलनमा विशेष अतिथि वक्ताका रुपमा अमेरिकाका लागि नेपाली राजदूतावासका प्रथम सचिव एवं कार्यवाहक राजदूत शरदराज आरन रहनेछन् भने क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृत प्रवेश रिजाल प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
१९ औं सम्मेलनलाई विशेष बनाउन सोसाइटीका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका चेयर आनन्द पौडेल, को-चेयर समीर रावल, टेक्निकल चेयर डा. किशोर श्रेष्ठ, टेक्निकल को-चेयर सुरोज लामिछाने तथा ह्युस्टन च्याप्टरका अध्यक्ष साहस श्रेष्ठ लगायतका पदाधिकारीहरुको सक्रियता निकै महत्वपूर्ण रहेको छ ।
सम्मेलनमा हाल अमेरिकी विश्वविद्यालयहरुमा इन्जीनियरिङ विषय अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको पोस्टर प्रस्तुति, व्यावसायिक नेटवर्किङ सत्र तथा प्राविधिक छलफलहरू पनि रहनेछन् ।
नोभेम्वर २१, शनिवार विहान ७ः३० देखि ५ः३० सम्म सम्मेलनको औपचारिक एवं प्राविधिक सत्रहरु सञ्चालन हुनेछन् भने साँझ सांस्कृतिक कार्यक्रम एवं नेटवर्किङ्ग सेसनहरु समेत सञ्चालन हुने आयोजकले जानकारी गराएका छन् ।














प्रतिक्रिया