ड्यालस, टेक्सस । नेपालको चितवन जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको नेपाली कथानक चलचित्र ‘प्रेम अध्याय’ आगामी आइतबार अमेरिकाको टेक्ससस्थित ड्यालसमा विशेष प्रदर्शन हुने भएको छ।
प्रेमकथा र एक्सनलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रको विशेष प्रिमियर शो नोभेम्बर १५ तारिख आइतबार दिउँसो १:३० बजे अर्भिङ मलस्थित AMC थिएटरको अडिटोरियम नम्बर ८ मा आयोजना हुने भएको हो।
चलचित्रको प्रिमियर शोमा सहभागी हुन नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सरोज खनाल शुक्रबार ड्यालस आउने भएका छन्। अभिनेता खनालको उपस्थितिले स्थानीय नेपाली चलचित्रप्रेमी दर्शकलाई कलाकारसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। चलचित्रमा अभिनेता रामशरण चौधरी र अभिनेत्री ऋचा थापाको मुख्य अभिनय रहेको छ। साथै, नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सरोज खनाल र मुकुन्द श्रेष्ठलगायत अन्य कलाकारहरूको पनि अभिनय रहेको छ।
प्रेम, भावना, मानवीय सम्बन्ध र द्वन्द्वलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएको चलचित्र ‘प्रेम अध्याय’ ले दर्शकलाई प्रेमकथा र एक्सनको मिश्रित स्वाद दिने निर्माण पक्षको विश्वास छ। चलचित्रको छायांकन नेपालको चितवन जिल्लाका विभिन्न स्थानमा गरिएको हो।
चलचित्रका लेखक तथा निर्देशक किशोर चौधरी हुन् भने निर्माता किरण चौधरी रहेका छन्। चलचित्रको छायांकन विष्णु परियारले गरेका छन्। त्यसैगरी, निर्माण नियन्त्रकको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हालेका छन्।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति र चलचित्र उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष प्रदर्शन आयोजना गर्न लागिएको आयोजकले बताएका छन्।
चलचित्रको टिकट मूल्य प्रतिव्यक्ति २० अमेरिकी डलर निर्धारण गरिएको छ। आयोजकले ड्यालस, फोर्टवर्थ, इर्भिङ तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई चलचित्र हेर्न र नेपाली कला तथा चलचित्र क्षेत्रलाई माया, साथ र समर्थन गर्न आग्रह गरेका छन्।













प्रतिक्रिया