अस्टिन, टेक्सास — अमेरिकाको टेक्सास राज्यको अस्टिनमा विभिन्न पेसा र व्यावसायिक क्षेत्रमा आबद्ध नेपाली लगानीकर्तालाई एउटै मञ्चमा जोड्दै दसैँ उत्सव तथा रियल इस्टेट राउन्डटेबल कार्यक्रम आयोजना गरिएको छ। रियल इन्टरनेसनलको आयोजनामा सम्पन्न कार्यक्रममा २० फरक पेसाका नेपाली सहभागी थिए। आफ्नो मूल पेसामा स्थापित हुनुका साथै आवासीय तथा व्यावसायिक घरजग्गा, होटल र अन्य व्यवसायमा लगानी गरिरहेका नेपालीलाई एउटै मञ्चमा ल्याउनु कार्यक्रमको मुख्य विशेषता थियो।

वित्तीय सेवा, लेखा तथा कर परामर्श, वास्तुकला, इन्जिनियरिङ, स्वास्थ्य सेवा, मोर्गेज, निर्माण व्यवसाय, सञ्चार, आईटि, उद्यमी र रियल इस्टेटलगायत क्षेत्रका प्रतिनिधिहरू सहभागी कार्यक्रममा लगानीका अनुभव आदानप्रदान तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो। विभिन्न पेसामा आबद्ध नेपालीको विशेषज्ञता, व्यावसायिक सञ्जाल र लगानी क्षमतालाई एकअर्कासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हिमाल खबरका कार्यक्रम व्यवस्थापक तथा रियल इन्टरनेसनलसँग आबद्ध रियल्टर भीषण न्यौपानेले कार्यक्रम सञ्चालन गर्दै सहभागीहरूलाई स्वागत गरेका थिए। विभिन्न पेसा र क्षेत्रमा स्थापित नेपालीलाई एउटै मञ्चमा ल्याएर लगानीका अवसर, ज्ञान र अनुभव आदानप्रदान गर्ने वातावरण निर्माण गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले उल्लेख गरे। दसैँको अवसरलाई समुदायबीच आत्मीयता बढाउने र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा समेत कार्यक्रमले जोडेको थियो।
कार्यक्रममा रियल इन्टरनेसनलकी संस्थापक लिन युआनले संस्थाको उद्देश्य तथा सेवाबारे जानकारी गराएकी थिइन्। ब्रोकरेज नेतृत्वमा रहेका रोशन बुढाथोकीले नेपाली डायस्पोराले अमेरिकामा उपलब्ध रियल इस्टेट तथा अन्य व्यावसायिक लगानीका अवसरलाई कसरी सदुपयोग गर्न सक्छ भन्ने विषयमा धारणा राखेका थिए।
कर्मा मोर्गेजका संस्थापक मितेस कोईरालाले समुदायका सदस्यबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए। आवासीय घरजग्गा लगानीकर्ता तथा नर्स प्राक्टिसनर अनुषा ढकालले समुदायका सदस्यबीच सहकार्य, ज्ञान र अनुभव आदानप्रदानको वातावरण बने सामूहिक रूपमा अघि बढ्न र साझा समृद्धि हासिल गर्न सकिने बताईन् । कर परामर्शदाता तथा सामाजिक अभियन्ता भोजराज भट्टले यस्ता कार्यक्रमले नेपाली समुदायभित्र रहेका सम्भावना, प्रतिभा र व्यावसायिक क्षमतालाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

अस्टिनमा आयोजित कार्यक्रममा ह्युस्टन र ड्यालसबाट समेत सहभागीहरू उपस्थित थिए। आयोजकका अनुसार विभिन्न पेसा र लगानीका क्षेत्रलाई समेटेर यसरी नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने कार्यक्रम अस्टिनमा पहिलोपटक आयोजना गरिएको हो।कार्यक्रमलाई आगामी दिनमा थप व्यवस्थित र क्षेत्रविशेषमा केन्द्रित बनाउने योजना रहेको रियल्टर सीमा काफ्लेले बताइन्। उनका अनुसार आगामी कार्यक्रम चिकित्सकहरूलाई लक्षित गरी आयोजना गर्ने र त्यसपछि इन्जिनियरहरूका लागि छुट्टै कार्यक्रम गर्ने योजना छ।
कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नेपाली समुदायबीच व्यावसायिक सञ्जाल विस्तार, लगानीका अवसर पहिचान र सामूहिक आर्थिक प्रगतिका सम्भावना खोज्ने योजना आयोजकले अघि सारेको छ।














प्रतिक्रिया