नेपाल

अस्थायी नदी अवरोध फुट्दा बूढीगण्डकीमा बाढी आएको आकलन

अस्थायी नदी अवरोध फुट्दा बूढीगण्डकीमा बाढी आएको आकलन


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो ।

Advertisement

इसिमोडका अनुसार असोज २५ गते बिहान नेपाली समयअनुसार करिब ४ बजे बाढी सुरु भएको अनुमान छ । बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा लेदो, गेग्रान र अन्य भग्नावशेष बगाएको थियो । पानीको सतहमा उतारचढाव आएपछि बूढीगण्डकी, त्रिशूली र नारायणी नदी प्रणाली आसपासका बासिन्दालाई सतर्क गराइएको थियो ।

बाढीका कारण केही व्यक्ति बेपत्ता भएका, घर बगेका, पुलमा क्षति पुगेको तथा नदी किनारका पूर्वाधार प्रभावित भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । गोरखाको सल्लेरीस्थित ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्षेत्रमा समेत क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ भने खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहतका काम जारी छन् ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले रसुवा–ग्यिरोङ विपद्को केही समयपछि भएको यो घटनाले पर्वतीय क्षेत्रका समुदाय र नदी करिडोरमा रहेका बस्ती प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पुनः देखाएको बताएका छन् ।

‘प्रतिकार्य अहिलेको प्राथमिकता हुनुपर्छ । तर, भविष्यमा यस्ता जोखिम न्यूनीकरण गर्न बाढी उत्पन्न हुनुको कारण बुझ्नु महत्त्वपूर्ण हुनेछ’, उनले भने ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता छियाङगङ झाङले प्रारम्भिक विश्लेषणले पहिरोले बनाएको अस्थायी नदी अवरोध फुटेर गेग्रानयुक्त बाढी आएको हुनसक्ने देखाएको बताए । उनका अनुसार भिरालो पर्वतीय जलाधार क्षेत्रमा पहिरो र नदी प्रणालीको एकीकृत अनुगमन आवश्यक छ । यस्ता क्षेत्रमा विपद् छिटो विकसित हुनसक्ने र त्यसको प्रभाव नदीको तल्लो तटीय क्षेत्रसम्म पुग्नसक्ने भएकाले जोखिमको समग्र मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

सन् २०२४ को बाढीसँग पनि समानता

बुढीगण्डकी क्षेत्रमा पछिल्लो बाढी सन् २०२४ को अप्रिलमा भएको अर्को ठूलो बाढीजन्य घटनापछि आएको हो । त्यतिबेला मनास्लु हिमनदीको अग्रभागबाट ठूलो हिमपहिरो खस्दा वीरेन्द्र तालको पानी विस्थापित भई बुढीगण्डकी नदीमा अचानक बहाव बढेको थियो ।

इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटना हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर आएको निष्कर्ष निकालेको थियो ।

यी दुई घटनाले हिमाली नदी प्रणालीमा विभिन्न प्रकारका प्राकृतिक प्रक्रियाले विनाशकारी बाढी निम्त्याउन सक्ने देखाएको इसिमोडले जनाएको छ । इसिमोडका अनुसार भविष्यमा जोखिम न्यूनीकरण, पूर्वाधार योजना तथा पुनर्स्थापनाका काम गर्दा पहिरो, नदीको बहाव, जोखिममा रहेका बस्ती र पूर्वाधार तथा विपद्का श्रृङ्खलाबद्ध प्रभावलाई एकीकृत रूपमा ध्यान दिन आवश्यक छ ।