साहित्य/सिर्जना

समयको हस्ताक्षरःसुशील नेपाल

समयको हस्ताक्षरःसुशील नेपाल

शैलेश सिंहको एकल गायन : उल्लासमय साँझ


असोज १८ गते आईतवारको साँझ गज्जबको दिन थियो । भाइ शैलेश सिंहको गलामा स्वंय नारायण गोपाल आएर अमृतको वर्षा गरेको त्यो पल ! यलमाया केन्द्र संगीतमा झुमेको साँझ !

गीति माहौंल – नगेन्द्र थापा र कालीप्रसाद रिजालजस्ता दिग्गज गीतकार ! दीपक जंगम र निह्यु बज्राचार्यजस्ता लोकप्रिय संगीतकारको उपस्थिति ! अनि प्रख्यात सिने तथा रेडियोकर्मी प्रकाश सायमीद्वारा नारायणगोपालका गीतहरूको पृष्ठभूमिको व्याख्याले दर्शकलाई अविचलित भइ spell bound भएर शैलेश सिंहको गलाबाट प्रवाहित नारायण गोपालका कालजयी गीतले करीब तीनघण्टा बांँधेर राखेको थियो ।

Advertisement

सौभाग्यशाली सयौं श्रोतामध्ये यो लेखक पनि पऱ्यो त्यो दिन ।

हामी प्रायः भन्ने गर्छौं , बुद्ध नेपालमा जन्मेका थिए ।तर बुद्ध मात्र नेपालमा जन्मेका होइनन् । हजारौं सिर्जनशील पुरूष तथा नारीहरूको कर्मभूमि रहेको देवभूमि हो नेपाल ।सुनको सिक्कासंग आफ्नो आत्मा सबैले साटेका हुन्नन् । कतिपयले आफ्नो स्वाभिमानले नेपालको झण्ड बोकेर हिडेका हुन्छन् ! कोही कोही मात्र छन् जो नेपालमै जन्मेर पनि सुनको सिक्कासंग आफ्नो आत्मा साटेर म त नेपालमा होइन भारतमा जन्मेको भन्न रूचाउँछन् । तेस्तोबेला सम्भावना र संकल्पसंग कुनै सम्झौंता नगर्ने कुनै उदयीमान गायकको गलाबाट नारायण गोपालको कालजयी गीतहरू निर्वाध बग्छ भनें सुन्न पाउने हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ ।

गत आइतवारको त्यो प्रस्तुतिको सम्पूर्ण शव्दचित्र उतार्न मेरो वुताले भ्याउँदैन् । दुईदशक भन्दा बढी पाताल प्रवासमा बसेको म जस्ताको लागि त्यो साँझ , लामो खडेरी पछि वर्षाले पृथ्वि सिंचिंत गरेको अनुभव भएको दिन थियो। शेलैश सिंहका भावभड्गींमा देख्दा महाभारतमा अर्जूनले माछाको आँखा बाहेक केही नदेखेर लक्ष्यमा सटीक भेद गरेझै केवल नारायण दाइलाई सम्झेर उनका गीतहरुमा अमृत प्रवाह भइरह्यो ।

चट्ट हार्मोनियम समाएर औंलाहरू चलाएमान् हुंँदा, लाग्थ्यो साक्षात सरस्वतिको हात शैलेशको कुममा अडिएर आशिर्वाद दिंदै छन्। यस्तो लाग्यो भगवान् कतै छन् भनें यहीँ छन् । त्यो एकाग्रताको साक्षी बस्न ललितपुरको यलमाया केन्द्रको परिसरमा हामीबीच बसेर गीतरुपी अमृतपान् गर्दैछन् ।

उता गीत बज्थे, म कालिप्रसाद रिजालको नजिकै बसेको थिएँ, नगेन्द्र थापा अलि पर्तिर हुनुहुन्थ्यो । गीतको गायनबीच म उहाँहरूतिर पुलुक्क हेर्दा , लाग्थ्यो दुबै सर्जकहरु आनन्द लिंदै शैलेशलाई आशिर्वादको वर्षा गराइरहनु भएको थियो ।

हल खचाखच भरिएर मान्छे उभिएर , हात बांधेर मन्त्रमुग्ध भएको दृश्यले प्रमाणित गर्दै थियो हामीलाई गर्वित गराउने बुद्ध मात्र एक्ला रहेनछन् ।

फेरि समयले अलि पछाडिको दृश्य पनि सम्झ्यायो । भीम विराग, हरिभक्त कटुवाल, गोपाल योन्जन, दिव्य खालिंड्ग, भूपि शेरचन ,चेतनकार्की आदि अनेकौं इतिहासको सुनौलो पानामा दरिएका गीतका सर्जकहरू सबै लामवद्ध भएर शैलेश सिंहलाई आशिर्वाद दिंदै गरेको आभाष मिल्यो ।

नारी गायिकामा शैलेशसिंहलाई उहांँकी आमाले साथ दिंदा शैलेशलाई मैले भाग्यमानी सम्झेँ । गीतकार नगेन्द्र थापाकी पूर्णीड्गिनी रीता थापाले नगेन्द्र दाइकै गीत गाएर माहौंलमा थप रौंनक थप्नुभयो ।

यसरी एउटा उल्लासपूर्ण गीति साँझ सकिएर मित्रहरु तारा बराल र बिटु केसीजीसंग सांगीतिक चर्चामा हराउँदै घर फर्किंदा
बाटोभरि एउटा गीत चै par excellent भएको अनुभूति मैले गरेँ – बुझ्नै सकिनौं तिमीले आँखाको भाखा मेरो …चेतन कार्कीको रचनाको त्यो कालजयी गीत !